काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी प्रदर्शनका क्रममा सरकारले अनावश्यक रूपमा अत्यधिक बल प्रयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
आयोगले विज्ञप्ति जारी गर्दै सरकारले प्रदर्शनअघि नै उच्च सुरक्षा तयारी गरी थप क्षति हुन नदिने, शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्ने र नयाँ पुस्ताले उठाएका मागलाई समयमा सम्बोधन गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गरेको छ।
साथै, प्रदर्शनका क्रममा ज्यान गुमाउनेको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
आयोगले प्रदर्शनकारी पक्षलाई पनि संयमित, मर्यादित र शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुसार कुनै पनि व्यक्ति वा समूहलाई शान्तिपूर्ण रूपमा असहमति व्यक्त गर्ने अधिकार छ। लोकतान्त्रिक सरकारले नागरिकका आवाजलाई समयमा सुनेर सम्बोधन गर्नुपर्छ। तर प्रदर्शन तोडफोड र आगजनीमा परिणत हुनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ।’
आयोगका अनुसार प्रहरीको गोली लागेर हालसम्म दर्जनभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने धेरै घाइते भएका छन्। आयोगले मृतकप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया