काठमाडौं । जेनजी आन्दोलन तीव्र बन्दै गएपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। काठमाडौंमा निषेधाज्ञा घोषणा भइसकेपछि ललितपुर प्रशासनले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको हो।
प्रशासनका अनुसार पुल्चोकस्थित यूएन हाउस र न्यायाधीश निवास वरिपरि दुई सय मिटर क्षेत्र निषेधित क्षेत्रको रूपमा तोकिएको छ। यसअन्तर्गत पूर्वमा इनार रोड जाने बाटो, पश्चिममा राष्ट्रिय किताबखाना (निजामती), उत्तरमा आन्तरिक राजस्व कार्यालय र दक्षिणमा राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय सहकारी विकास बोर्ड परिसरसम्म निषेधाज्ञा लागू हुनेछ।
त्यसैगरी, भैंसेपाटीस्थित मन्त्री आवास क्षेत्रलाई समेत निषेधित क्षेत्र घोषित गरिएको छ। पूर्वमा भैंसेपाटी–बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ, उत्तरमा भैंसेपाटी आवास गेटसम्म निषेधाज्ञा लागू हुने प्रशासनले जनाएको छ।
यस्तै सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय आसपास पनि निषेधाज्ञा लागू गरिएको छ। पूर्वतर्फ सानेपा चोकदेखि इन्द्रायणी मन्दिर जाने पक्की सडक क्षेत्रसम्मको चौहद्दी निषेधित क्षेत्र मानिनेछ।
निषेधाज्ञा अवधिभर कुनै पनि प्रकारका सभा, जुलुस, धर्ना वा भेला नगर्न जिल्ला प्रशासन कार्यालयले सबै पक्षलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया