काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको ज्यान जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहलमा मन्त्रालयले सोमबार परिपत्र जारी गर्दै आन्दोलनमा घाइते भएका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने र कसैलाई पनि आर्थिक कारणले उपचारमा बाधा नपर्ने व्यवस्था गर्न अस्पतालहरूलाई आदेश दिएको हो।
आकस्मिक कक्षमा थप स्वास्थ्यकर्मी
प्रदर्शनका क्रममा घाइतेको संख्या बढेसँगै अस्पतालका आकस्मिक कक्षहरूमा चाप अत्यधिक बनेपछि मन्त्रालयले अतिरिक्त जनशक्ति परिचालन गरेको छ। सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन चार जना चिकित्सक र छ जना स्वास्थ्य सुरक्षाकर्मी खटाइएका छन्। वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टर भने पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको मन्त्रालयको सचिवालयले जनाएको छ।
रगत अभाव हुन नदिन पहल
घाइते बिरामीहरूको उपचारका क्रममा रगतको अभाव नहोस् भनेर मन्त्रालयले ‘हेलो स्वास्थ्य’ हटलाइनलाई २४ घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ। कुनै पनि अस्पताल वा बिरामीलाई रगत आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
एम्बुलेन्स सेवा प्रभावकारी बनाउन तयारी
मन्त्रालयले आपतकालीन अपरेसन सेन्टरमार्फत एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन सक्रियता देखाएको छ। काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई प्रयोग गरेर एक अस्पतालबाट अर्कोमा बिरामी पुर्याउन सहज बनाइनेछ।
स्वास्थ्य मन्त्रालयले सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई एकजुट भई घाइतेहरूको उपचारमा पूर्ण समर्पित हुन आग्रह गर्दै, प्रत्येक नागरिकको जीवन रक्षा गर्न सरकार जिम्मेवार रहने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया