काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सोमबार जेनजीहरूको प्रदर्शनमा सरकारले गरेको दमनलाई देशको भविष्यमाथिको आक्रमणका रूपमा वर्णन गरेकी छन् । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोलीबाट १९ जनाको मृत्यु भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
उनका अनुसार सरकारसँग युवाहरूलाई रोक्नका लागि थुप्रै वैकल्पिक उपायहरू हुँदाहुँदै पनि बन्दुक प्रयोग गर्नु गैरजिम्मेवार कदम हो । “बन्दुकको भरमा प्रतिरोधको स्वर दबाउनु वीरता होइन, कायरता हो,” उनले भनिन् ।
गौतमले राजनीतिक स्वार्थ नभएर समानता र न्यायको माग बोकेर सडकमा उत्रिएका नयाँ पुस्ताका युवाहरूलाई सरकारको दायित्वअनुसार जोगाउनुपर्नेमा उल्टै गोली प्रहार गर्नु हत्या भएको टिप्पणी गरिन् । “संवाद गर्नुपर्ने बेला गोली खोलियो, यो स्पष्ट हत्या हो,” उनले थपिन् ।
उनले सरकारको कदमलाई पुरानो शासकीय शैलीको पुनरावृत्ति भन्दै आलोचना गरिन् । “जनताको रगत बगाएर कुर्सी जोगाउने प्रवृत्ति सत्तावादको कुरूप रूप हो,” उनले भनिन्, “अबोध युवामाथि गोली चलाउने सरकार जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो । आफ्नै नागरिकलाई सानो बहानामा मार्ने यस्तो मानसिकता आतंकवादी चरित्र हो ।”
जेनजीहरूले सोमबार भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन् ।
प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार













प्रतिक्रिया