काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नै घर जलाईएको पीडादायी प्रसंग सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले आफ्नो बुबाआमा, पत्नी र परिवारसहित कठिन परिस्थितिबाट गुज्रनु परेको उल्लेख गर्दै “देशका लागि समर्पणको सजाय घरबार विहीन भएर पाएको छु” भनेका छन्।
मंगलबार भएको आन्दोलनका क्रममा उनको भक्तपुरस्थित घरमा आगजनी गरेर सम्पूर्ण सम्पत्ति खरानी बनेको छ। उनका ७७ वर्षीय बुबा, ओपन–हर्ट सर्जरी गराएकी आमा र राजनीतिमा चासो नै नराख्ने पत्नीलाई समेत घरमै जलाउने प्रयास गरिएको उनले दाबी गरेका छन्। उनले भनेका छन्, “आज आमाबुबाले खाने औषधि, परिवारसँग फेर्ने लुगा समेत छैन, हामी भाडाको कोठामा लुकेर बस्न बाध्य भएका छौँ।”
नेता बस्नेतले आफ्नो घर १४ वर्षअघि बाबुको पसिनाको पैसाले बनेको स्मरण गर्दै त्यसैलाई खरानी बनाइएको पीडा पोखेका छन्। उनले राजनैतिक जीवनका क्रममा गरेका खर्च र छोरीको विवाहलगायतका कारण आफूलाई करिब २ करोड ५० लाख रुपैयाँ ऋण भएको उल्लेख गर्दै यो “सहयोग माग्ने रोदन नभई अन्यायपूर्ण सजायप्रतिको व्यथा” भएको बताएका छन्।
आन्दोलनमा व्यापक लुटपाट र तोडफोड भएको उल्लेख गर्दै उनले भनेका छन्, “संसद भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालतदेखि निजी होटल, भाटभटेनी र बैंकसम्म जलाइयो। पशुपतिनाथ मन्दिर जलाउने प्रयास भयो। अझ भयावह त रवि लामिछानेसहित हजारौं अपराधी जेलमुक्त गरिनु हो।”
उनले आफ्ना समर्थक र जनतालाई सम्बोधन गर्दै जनताको सेवामा निरन्तर खटिने प्रतिबद्धता पनि दोहोर्याएका छन्। उनले भनेका छन्, “आज मेरो घर खरानी भयो तर जनताप्रतिको मेरो माया कहिल्यै खरानी हुने छैन।”
बस्नेतले आन्दोलनकारीहरूमाथि शंका भए आफू र परिवारमाथि अनुसन्धान गर्न आग्रह गर्दै दोषी भए सजाय भोग्न तयार रहेको तर निर्दोष ठहरिए भने खरानी भएको आफ्नो जीवनको पीडा कसरी उपचार हुन्छ भन्ने प्रश्न पनि गरेका छन्।
उनले विभेदरहित, भ्रष्टाचारमुक्त र जनमुखी समाज निर्माण गर्ने जनताको पवित्र उद्देश्यलाई अपराधी र अन्तर्राष्ट्रिय स्वार्थी समूहलाई कब्जा गर्न नदिन सबैलाई सचेत रहन अपिल गरेका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया