काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मुलुकको नेतृत्व अब नागरिकको चाहना बुझ्ने व्यक्तिले गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचारमा संलग्नहरूलाई कानुनी दायरामा ल्याई थुनिनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
उनले भनेका छन्, ‘देश र समय अहिले ठूलो परिवर्तनको माग गर्दैछ। आजका युवापुस्ता ५० वर्षअघिका युवाभन्दा धेरै शिक्षित र सचेत छन्। समयअनुसार अघि नबढ्नेहरूलाई समयले छोडिदिन्छ भन्ने कुरा हामी सबैले देखिसक्यौँ। हामीले हाम्रो पुस्ताले गर्नुपर्ने कामहरू गर्यौँ, अब यो पुस्ताले नेतृत्व सम्हाल्नुपर्छ, किनभने समयको प्रतिनिधित्व युवाहरूले नै गर्छन्।’
युवापुस्ताको मागलाई नै समयको माग ठहर गर्दै श्रेष्ठले थपे, ‘नेपालका जेनजीको एकताले युवा शक्ति कति बलियो हुन्छ भन्ने कुरा विश्वलाई देखाइसकेको छ। अब हामी सबैले संयम अपनाएर, देशभर र विदेशमा रहेका नेपालीहरू समेत एकजुट भई हाम्रो अमूल्य भौतिक सम्पत्ति जोगाउने, संरक्षण गर्ने र आवश्यक परे पुनर्निर्माण गर्ने दायित्व लिनुपर्छ। भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापना गर्दै नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी यही पुस्ताको काँधमा आएको छ।’
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया