काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता योगेश भट्टराईले मुलुक गम्भीर संकटमा रहेको उल्लेख गर्दै पार्टीभित्र आत्मालोचना र पुनर्गठन गर्न आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उनले देश र समाज भयानक अस्थिरतामा रहेको भन्दै उत्तेजनामा आएर निर्णय नगर्न सबैलाई सुझाव दिएका छन्।
उनले विकसित घटनाहरूको गहिरो विश्लेषण गर्न, कमजोरीको समीक्षा गरेर गल्तीप्रति आत्मालोचित हुनुपर्ने आवश्यकता औंल्याए। साथै पार्टी संगठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठन गरी एकता मजबुत बनाउनुपर्नेमा जोड दिए।
भट्टराईले पार्टीभित्र आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गर्नुपर्ने र आन्तरिक प्रक्रियालाई पूर्ण पारदर्शी तथा लोकतान्त्रिक बनाउनुपर्ने बताए। जनतामाझ पुगेर उनीहरूको आवाज सुन्ने र त्यसअनुसार निर्णय लिनुपर्ने उनको भनाइ छ।
लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता र कानूनको शासनलाई पार्टीको मूल आत्मा भएको स्पष्ट पार्दै उनले यसबाट विचलित नहुन आग्रह गरे।
भट्टराईले ‘खरानीबाट उठेर मुलुक पुनर्निर्माण गर्ने अठोट गर्नुपर्छ’ भन्दै नेपालको हित चिताउने सबैसँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे। हिमाल, पहाड, तराई, विभिन्न जातजाति र भाषाभाषीबीचको एकतालाई बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए।
आन्तरिक सहमति र संवैधानिक तथा लोकतान्त्रिक मूल्यअनुरूप निकास दिनुपर्ने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपाली जनताका प्रयासमा सहयोग गर्न आह्वान गरे।
यस्तै, हालै सक्रिय भएको ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन गर्ने र त्यसको कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
भट्टराईले अन्त्यमा ‘नेपाल बचाऔ, नेपालीत्व जोगाऔँ’ भन्दै अपील गरेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया