काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भदौ २३ गतेको घटनाले देशलाई अर्को चरणको ‘नियन्त्रित अस्थिरता’तर्फ धकेलेको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी पुस्ताद्वारा सञ्चालित आन्दोलनपछिको परिस्थितिबारे आह्वानसमेत गरेका छन्।
आफ्नै पुस्ताका केही व्यक्तिको नालायकीप्रति लज्जित भएको भन्दै उनले माफी मागेका छन्। साथै, सरकारले गरेको दमन र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नालायकीलाई बहाना बनाएर हिजोदेखि देशभर सार्वजनिक सम्पत्तिमा भएको आक्रमण, तोडफोड र आगजनी केवल जनताको स्वतःस्फूर्त आक्रोश मात्र नभई अन्य पक्षको प्रभाव पनि रहेको भुसालले बताएका छन्।
मेरो अपिल
भदौ २३ गते नौजवान युवापुस्ता (जेनजी)ले जुन माग राखेर र जुन आचारसंहिताको घोषणा गरेर आन्दोलन आरम्भ गरेका थिए । त्यसले सबै नेपालीलाई स्वत:स्फूर्त आकर्षित गरेको थियो । त्यसले उनीहरुको जिम्मेवारी बोधको उचाइ समेत प्रदर्शन गरेको थियो । तर निहत्था र अबोध नौजवानहरुमाथि सरकारले गरेको बर्बरतापूर्ण राक्षसी आक्रमणले सम्पूर्ण राजनीतिक र मनोवैज्ञानिक परिस्थितिलाई हल्लाइदियो ।
वस्तुतः सरकारले गरेको नरसंहार र प्रधानमन्त्री ओलीको नालायकीको पराकाष्ठालाई बहाना बनाएर हिजो बिहानदेखि देशभरिका सार्वजनिक सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका जेजस्ता घटना भए ती जनताको स्वत:स्फूर्त आक्रोशले मात्रै भएका थिएनन् भन्ने तथ्य बुझ्न हामीलाई समय लाग्नेछ ।
यसबाट मुलुकले महाभूकम्प र भारतको नाकाबन्दीकै जस्तो खर्बौंको राष्ट्रिय सम्पत्तिको ध्वंश भएको छ । एकैदिनमा देशभरि लुट, तोडफोड र आगजनीको ताण्डवले हाम्रो राष्ट्रिय मानसपटलमा जुन चोट पुञ्याएको छ, त्यसले हामीलाई दशकौँसम्म झस्काइरहनेछ ।
प्रधानमन्त्री ओलीको अप्राकृतिक सत्तालिप्साले गर्दा मुलुकले १० वर्षमा हासिल गर्नसक्ने तीव्र आर्थिक विकास र सामाजिक तथा सांस्कृतिक आधारहरु निर्माणका अवसर गुमाएकै थियो । भदौ २३ गते नरसंहारले मुलुकलाई फेरि अर्को चरणको ‘नियन्त्रित अस्थितरता’तर्फ धकेलेको छ ।
दुर्भाग्यवश, एउटा कुरा निश्चित भएको छ कि नेपाल अब फेरि उथलपुथलको नयाँ श्रृङ्खलामा प्रवेश गरेको छ । वस्तुतः भ्रष्टाचार विरुद्ध उठेका नौजवान युवा आन्दोलनकारीबाट आन्दोलनकै अपहरण भएपछि यो ताण्डवको आरम्भ भएको थियो । अब पर्दा पछाडिका शक्तिहरु नेपाललाई युक्रेन, लिबिया वा बंगलादेश बनाउने प्रयास गर्नेछन् भन्ने कुरामा हेक्का नराख्नु आज जीवित रहेको हाम्रो पुस्ताको घोर नालायकी हुनेछ ।
लोकतान्त्रिक स्थिरताका साथ समृद्ध बन्ने नेपाल राष्ट्रको आकाङ्क्षालाई बोक्न सक्ने योग्यता भएको जिम्मेवार नेतृत्वको अभावमा हाम्रा राजनीतिक पार्टीहरु जनताबाट अलग्गिँदै गएका थिए । मैले २०७५ सालको संसद विघटन लोकतान्त्रिक गणतन्त्रको ओरालो यात्रा हो, यही नेतृत्व रहिरह्यो भने यो नेपाली जातका अझै ठूला दुर्दिन नजिक आउँदैछन् भनेर राजनीतिक समुदायलाई बुझाउने प्रयास गरिरहेँ । भ्रष्टाचार नगर्ने सदस्यहरुको पार्टीविना लोकतान्त्रिक गणतन्त्रलाई बचाउन सकिन्न भनेर चिच्याइरहेँ ।
दलाल पुँजीवादसँग गठजोड गरेको नेतृत्वबाट लोकतान्त्रिक गणतन्त्रको रक्षा हुनै सक्दैनथ्यो । त्यस सत्यलाई राजनीतिक पार्टीहरुमा स्थापित गर्न सकिएन । राजनीतिको मिटरब्याजमा सत्ताभोग गरिरहेका नेताहरुबाट हामी धेरै पटक पराजित भयौँ जसको मूल्य अहिले मुलुकले तिर्दैछ । देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिका लागि दशकौँसम्म बलिदान र त्यागले निर्माण भएका राजनीतिक पार्टीका लाखौँ कार्यकर्ताहरु सामाजिक लफङ्गाहरुबाट लखेटिनुपर्ने भयो । दिनदहाडै मुलुकको चीरहरण हुँदा त्रस्त, हतास, निरुपाय भएर लुक्नुपर्ने भयो ।
मुलुकको यस असाधारण हलचलको अवस्थामा हाम्रो पङ्तिमा हतासा, पलायन, आत्मसमर्पण देखिनु स्वाभाविक हो । तर हरेक क्रान्तिकारी आन्दोलन आफैँभित्रका नालायकीमाथि विजय हासिल गर्दै अगाडि बढ्छ । यो धक्का हाम्रो विचारको असफलता होइन, लोकतन्त्र र समाजवादका मूल्यहरुको असफलता होइन, त्याग र बलिदानले बनाएको हाम्रो इतिहासको असफलता पनि होइन ।
यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरुको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मणरेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात गर्न सक्यौँ भने हामीले हतासा, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । त्यसैले अझ बढी धैर्यता, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र सङ्गठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ ।
नयाँ राजनीतिक–भूराजनीतिक घटनाहरु कसरी घट्छन् अहिले नै भन्न सकिन्न । अहिलेका घटनाक्रम जतिसुकै अप्राकृतिक र असह्य भए पनि यो भन्दा बढी जनधनको क्षति नहोस् भन्ने कुरामा ध्यान दिउँ । तर राजनीतिलाई असाधारणरुपले प्रतिक्रान्तिकारी दिशामा लैजाने, हामीले आर्जेका राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र हामीलाई असफल मुलुक घोषणा गर्ने प्रयासलाई नजिकबाट अध्ययन गर्दै हाम्रो तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि तयार रहौँ । हामी समयको परीक्षामा छौँ, सामना गर्न मनसा–वाचा–कर्मणा तयार होऔँ ।
अन्त्यमा, प्रिय नौजवान युवाहरु (जेन जी) ! तपाईँहरुलाई वारेस बनाएर मुलुकको लोकतन्त्र र राष्ट्रिय हितमाथि खतरा थोपरिँदै छ । मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु । तर त्यसका नाममा तपाईँहरुलाई अरुले लुट्न नपाओस् ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया