काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने भन्दै हिंसात्मक गतिविधि नगर्न सबैमा आह्वान गरेको छ।
बुधबार आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि देशभर दुई दिनसम्म चलेको प्रदर्शनपश्चात लागु भएको निषेधाज्ञाको समयमा मानव अधिकारको अवस्था, मृतक परिवार र घाइतेहरूको सुरक्षा सुनिश्चित गर्न आयोग निरन्तर सक्रिय रहेको छ।
आयोगका प्रवक्ता डा. टीकारम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्छ भन्नेमा आयोग दृढ छ। जनताका हक–अधिकारलाई सशक्त र सुरक्षित बनाएर लोकतान्त्रिक विधि र प्रक्रियामार्फत वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक समाधान पाउनुपर्छ।’
विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोरिन सुनिश्चित गर्न र कोही पनि हिंसात्मक गतिविधिमा नलाग्न सबैमा आह्वान गरिएको छ। आयोगले संकटको यस घडीमा राज्यका सबै निकाय र आम नागरिकको सक्रिय भूमिका आवश्यक भएको भन्दै सबैलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया