काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले हालको अस्थिर परिस्थितिबाट देशलाई निकास दिन राजसंस्था पुनःस्थापना बाहेक अरू विकल्प नभएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै ढकालले हालैका घटनाले जनतालाई विभिन्न ध्रुवमा विभाजित गरेको र अराजक प्रवृत्तिले सत्ता कब्जा गर्ने वातावरण सिर्जना गरेको आरोप लगाए। उनका अनुसार, यो अवस्थाले मुलुकलाई लामो समयसम्म अस्थिरतातर्फ धकेल्ने खतरा छ।
ढकालले लेखेका छन्, “जे भयो, आवश्यक थियो, तर आवश्यकता भन्दा बढी भयो। दुखद घटनाले मानिसलाई ध्रुवीकृत बनाएको छ। राष्ट्रिय एकता र शान्ति आजको पहिलो आवश्यकता हो।” उनले चेतावनी दिँदै भने, अबको बाटो लामो अस्थिरतामा जान सक्छ, अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्ति पटक–पटक दोहोरिने जोखिम छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधनलाई उद्धृत गर्दै उनले भने, “राष्ट्र जोगाउने हो भने, हामीलाई साथ दिनुहोस्।” ढकालका अनुसार, उक्त सम्बोधनलाई त्यतिबेला धेरैले हल्का रुपमा लिए पनि अहिलेको परिस्थितिमा मुलुकलाई जोगाउन राजसंस्था फर्काउनु अपरिहार्य बनेको छ।
उनले थपे, मानौँ या नमानौँ, नेपालीबीच वृहत्तर एकता र देशमा शान्ति कायम गर्दै फेरि शून्यबाट यात्रा गर्नका लागि अब राजसंस्था फर्किनु नै एक मात्र विकल्प बाँकी छ।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया