धादिङ। सुरक्षाघेरा तोडेर भाग्ने प्रयास गर्ने क्रममा प्रहरी–प्रशासन र सेनासँगको भिडन्तमा दुई कैदीको ज्यान गएको छ। सुरक्षामा खटिएको नेपाली सेनाले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विजयराज सुवेदीका अनुसार ज्यान गुमाउनेमा धादिङको बेनीघाटका करिब ७५ वर्षीय जीतबहादुर घले र नवलपरासी पश्चिम सुनवलका ३६ वर्षीय इन्द्रबहादुर डाला रहेका छन्। घले जबर्जस्ती करणी मुद्दामा र डाला लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका थिए।
गोली लागेर सात जना कैदी घाइते भएका छन्। उनीहरूलाई प्रारम्भिक उपचारका लागि केन्द्रीय कारागार, काठमाडौं लगिएको र अवस्था हेरेर अस्पताल पठाइने प्रजिअ सुवेदीले जानकारी दिए।
घटना बिहान ९ बजेदेखि सुरु भएको भए पनि दिउँसो १ बजेर १८ मिनेटमा कैदीहरूले सामूहिक विद्रोह गर्दै बाहिर निस्कने प्रयास गरेका थिए। वारपारको अवस्थापछि नियन्त्रण गर्न नसकेपछि सेनाले गोली चलाएको सुवेदीले बताए।
स्थिति नियन्त्रण गर्ने क्रममा छ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्, तर उनीहरूको अवस्था सामान्य रहेको छ। प्रजिअ सुवेदीका भनाइमा, ‘कैदीहरूले सेनामाथि आक्रमण थालेपछि बाध्य भएर गोली चलाउनु परेको हो।’
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया