काठमाडौं । आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाउने प्रक्रियामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि समर्थन जनाएका छन्।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका रूपमा प्रस्ताव गर्दै प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष पेश गरेका थिए। प्रस्ताव अनुसार संवेदनशील परिस्थितिमा कानुन र विधि पालनामा इमान्दार छवि भएका व्यक्तिलाई नेतृत्वमा ल्याउनु आवश्यक भएको बताइएको छ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले कार्कीको नाम पेश गरेका थिए, तर जंग्गीअड्डाबाहिर केही युवाहरूले यसविरुद्ध नाराबाजी समेत गरेका थिए। सामाजिक सञ्जाल डिस्कर्डमा पनि दिनभर छलफल भइरहेकामा कार्कीको पक्षमा बलियो समर्थन देखिएको थियो।
धेरै युवाहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको नाम पनि प्रस्ताव गरेका थिए, तर उनले प्रत्यक्ष रूपमा संलग्न नभएकाले केहीले गुनासो गरेका थिए। मंगलबार बेलुकी मेयर शाहले जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन सुझाव दिएका थिए।
बुधबार बिहान जेनजी प्रतिनिधिहरू वार्ताका लागि जंगीअड्डा पुगेका थिए। सेना प्रमुख सिग्देलले १५ जनाभन्दा बढी प्रतिनिधि आउँदा पहिले आपसमा सहमति गरेर आउन र संयोजक तोक्न आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाको एउटा कोठामा बैठक सम्पन्न भएको थियो।
बैठकमा केहीले गणतन्त्र विरोधी प्रस्ताव पनि राखेका थिए, जसकारण रक्षा बमसहितको समूह बाहिर गएको थियो। यद्यपि, अन्ततः सबैले सहमति गर्दै सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने निर्णय गरेका छन्।
प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार













प्रतिक्रिया