काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसद् जनताको सर्वोच्चताको प्रतीक भएकाले यसको विघटन अस्वीकार्य हुने बताएकी छिन्।
बिहीबार सार्वजनिक गरिएको एक भिडियो सन्देशमा उनले संसद् विघटन जनताको अधिकारमाथिको प्रहार हुने उल्लेख गर्दै यो कदम सह्य नहुने प्रष्ट पारिन्। उनका अनुसार, संसद् कायम राख्दै जेन–जीलगायत सबै पक्षको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिन्छ।
गौतमले भनिन्, “जनताको सर्वोच्चता कायम राख्ने संस्था नेपालको संसद् हो। यसको विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि नै संकट ल्याउनु हो।”
उनले जेन–जी पुस्तालाई देखाएर स्वार्थप्रेरित निर्णय गर्न कसैले नपाइने चेतावनी दिँदै थपिन्, “कुनै पनि स्वार्थप्रेरित निर्णय हुनु हुँदैन। संसद् यथावत् राख्दै अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने, जेन–जी पुस्ताको सक्रियताबाट जनताले चाहेको नेतृत्व चुनावबाट नै चयन गर्न सक्छन्।”
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया