काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधानअनुसार नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले लोकतान्त्रिक अधिकारको उपयोगसँगै नागरिकले आफ्नो कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको उत्तरदायित्वलाई पनि कहिल्यै नबिर्सनुपर्नेमा जोड दिए।
बर्तौलाले भने– “लोकतान्त्रिक व्यवस्थामा सरकारको कामकाजबारे प्रश्न उठ्नु, असहमति जनाउनु, खबरदारी गर्नु वा नयाँ सरकारको माग गर्नु नागरिकको अधिकार हो। तर अधिकार प्रयोग गर्दा राष्ट्रप्रतिको न्यूनतम जिम्मेवारीलाई भने सधैं ख्याल राख्नुपर्छ।”
उनका अनुसार लोकतन्त्रका लागि जीवनभर लडिरहेका दलहरूका लागि सत्ता कुनै विशेष महत्वको कुरा होइन, बरु मुलुकको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र संवैधानिक व्यवस्थाको जीवन्तता नै मुख्य सरोकार हो।
“संसदबाट बनेको अहिलेको सरकारले जेनजी पुस्ताको सडक आवाजलाई सम्मान गर्दै मार्ग प्रशस्त गरिसकेको छ। जनादेश र संसद्को अंकगणितअनुसार सरकार बन्नु वा ढल्नु संसदीय प्रणालीको नियमित प्रक्रिया हो। अब संविधानअनुसार नयाँ सरकार गठनको पहल र समन्वय राष्ट्रपति ज्युले चाँडै गर्नुपर्छ,” उनले भने।
बर्तौलाले मुलुकमा उत्पन्न हुने सबै प्रश्नहरूको वैध समाधान लोकतान्त्रिक मार्ग र संवैधानिक प्रावधानबाट मात्रै सम्भव हुने बताए। “क्षणिक आवेग वा अल्पकालीन सोचले होइन, संविधान र प्रणालीमै अडिग रहँदा मात्र मुलुकको भविष्य सुरक्षित हुन्छ। यही बाटोले मात्रै अग्रजहरूले जोगाएको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हित सुरक्षित हुन्छ,” उनले स्पष्ट पारे।
यसै सन्दर्भमा उनले संविधान र व्यवस्थामाथि नै खतरा पैदा गर्ने षड्यन्त्र भइरहेको चेतावनी दिँदै नेपाल र नेपालीको दीर्घकालीन भविष्यप्रति सतर्क रहन आग्रह गरे।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया