काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप पौडेलले हाल देशमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटलाई सम्बोधन गर्न संवैधानिक उपाय र राष्ट्रिय मेलमिलाप आवश्यक भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भ्रष्टाचारविरोधी आन्दोलनमा जेन–जि पुस्ताले उठाएका मुद्दा वैधानिक र न्यायोचित भएको स्वीकार गर्दै यसलाई राष्ट्रको पुनर्जागरणको अवसरका रूपमा लिन नेतृत्व तहलाई आग्रह गरे।
पौडेलले हालको परिस्थितिले मुलुकलाई राजनीतिक शून्यतामा धकेलेको भन्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठन, संविधान संशोधन तथा पार्टी नेतृत्वले राजीनामा दिएर छ महिनाभित्र कांग्रेस महाधिवेशन आह्वान गर्नुपर्ने आवश्यकता औंल्याए।
भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। शान्तिपूर्ण आन्दोलनमा भएको बल प्रयोगको निन्दा गर्दै उनले आन्दोलनको आवरणमा भएको आगजनी, तोडफोड र हिंसात्मक गतिविधिलाई पनि अस्वीकार्य ठहर गरे।
कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक र सार्वजनिक व्यक्तिमाथि भएको आक्रमणको उनले घोर भर्त्सना गर्दै घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन जोड दिए।
राष्ट्रपतिले सुरु गरेको संवाद प्रक्रियाको स्वागत गर्दै पौडेलले सबै दल र पक्षहरू मिलेर देशलाई राजनीतिक तथा संवैधानिक संकटबाट जोगाउनुपर्नेमा जोड दिए। उनले कांग्रेस नेतृत्वलाई तत्काल बैठक बोलाएर मुलुकलाई निकास दिनुपर्ने आवश्यकता पनि औंल्याए।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया