काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जि युवा आन्दोलन र आफ्नो पार्टीले उठाइरहेका मुद्दा समान भएको बताउँदै आन्दोलनकै बीचमा माओवादी कार्यालय र निजी निवासमा आगजनी हुनु गम्भीर प्रश्नको विषय भएको टिप्पणी गरेका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले आन्दोलनको दोस्रो दिन आयोजकहरूको औपचारिक घोषणाविपरीत असामाजिक तत्त्वहरूको प्रवेश भएको र ती समूहहरूले सिंहदरबारसहित राज्यका साझा संरचनामा तोडफोड र आगजनी गरेको आरोप लगाए।
उनले जेन–जि आन्दोलनका मागहरू माओवादीले विगतदेखि अघि सारेका एजेण्डासँग मेल खाने बताउँदै, आन्दोलनका पीडादायी पक्ष भए तापनि यसले राष्ट्रलाई नयाँ अग्रगमनको ढोका खोलिदिएको धारणा राखे। यस योगदानका लागि उनले जेन–जि पुस्ताप्रति विशेष आभार प्रकट गरे।
प्रचण्डले आन्दोलनले उन्नत लोकतन्त्र र सुशासनको मागलाई अगाडि सारेको उल्लेख गर्दै, संसद् विघटन वा संविधानविरोधी कुनै एजेण्डा नरहेको स्पष्ट पारे। उनका अनुसार, युवाहरूको जायज माग संविधान र विद्यमान संसदीय प्रक्रियामार्फत पूरा गर्न सकिने छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया