काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले मुलुकको दीर्घ भविष्य, स्वाधीनता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणलाई प्रमुख प्राथमिकताका रूपमा लिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले लेखेका छन्, ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे? उचाइ हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे?’ भन्दै राष्ट्रकै अस्तित्व र पहिचान सुरक्षित राख्न सबैलाई सचेत रहन अपिल गरेका छन्।

advertisement

उनले लोकतान्त्रिक व्यवस्थामा सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु, असहमति जनाउनु, खबरदारी वा आलोचना गर्नु नागरिकको स्वाभाविक अधिकार भएको उल्लेख गरे। तर, यस्तो अधिकार प्रयोग गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जवाफदेहिता भुल्न नहुनेमा जोड दिए।

बर्तौलाका अनुसार, अधिनायकवादविरुद्ध दशकौं लडेको नेतृत्व र दलका लागि सत्ता कुनै अन्तिम लक्ष्य होइन, बरु जनताको निर्णय र संवैधानिक प्रक्रियाले निर्धारण गर्ने विषय हो। ‘मुख्य कुरा मुलुकको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षा हो,’ उनले लेखे।

उनले संसदबाटै लोकतान्त्रिक तरिकाले बनेको सरकारले जेन–जि पुस्ताको सडकको आवाजलाई सम्मान गर्दै मार्ग प्रशस्त गरिसकेको स्मरण गराउँदै, नयाँ सरकार निर्माण संसदको अंकगणित र संविधानले तोकेको प्रक्रियाअनुसार हुनुपर्ने बताए। यसका लागि राष्ट्रपतिले चाँडै पहल र समन्वय गर्नुपर्ने उनको भनाइ छ।

बर्तौलाले हरेक राजनीतिक प्रश्न वा संकटको समाधान संविधान र लोकतान्त्रिक बाटोमै खोजिनुपर्नेमा जोड दिँदै भने, ‘क्षणिक आवेग वा हतारको सोच होइन, संवैधानिक व्यवस्था र प्रणालीकै आधारमा मात्र मुलुकको सुन्दर भविष्य निर्माण गर्न सकिन्छ।’

उनका अनुसार, यसै बाटोले अग्रजहरूले रगत बगाएर सुरक्षित पारेको मुलुकको स्वाधीनता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितको रक्षा सम्भव हुन्छ। तर अहिले व्यवस्था र प्रणालीमाथि नै गम्भीर षड्यन्त्र भइरहेकाले सचेत हुनुपर्ने चेतावनी पनि उनले दिएका छन्।

‘हामी सबैले व्यक्तिगत इगो र स्वार्थभन्दा माथि उठेर नेपाल र नेपालीको दीर्घ भविष्यका बारेमा सोच्नुपर्ने बेला यही हो,’ बर्तौलाले भनेका छन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com