काठमाडौं । देशभर फैलिएको जेनजी आन्दोलन सरकारी मात्र नभई निजी सम्पत्तिमा समेत केन्द्रीकृत भएपछि निजी क्षेत्र गम्भीर चिन्तित बनेको छ।
सिटिजन बैंकका अध्यक्ष तथा उद्योगी प्रवलजंग पाण्डेले बुधबार सामाजिक सञ्जालमार्फत व्यवसायी समुदायको पीडा सार्वजनिक गर्दै प्रश्न उठाएका छन्। उनले भने, ‘‘प्रिय व्यवसायी मित्रहरू, विगत दुई दिनको घटनाले हामीलाई अन्योलमा पारेको छ। ऋण लिएर उद्योग–व्यवसाय चलाइरहेका छौं, हजारौंलाई रोजगारी दिइरहेका छौं, राज्यलाई कर बुझाइरहेका छौं। तर केही राजनीतिक नेताको गल्तीको सजाय हामी निजी क्षेत्रले किन भोग्ने?’’
पाण्डेको भनाइले समग्र उद्योगी–व्यवसायीको चिन्ता झल्काएको छ। उनका अनुसार हाल उद्योग र निजी घरपरिवारमा आक्रमण भइरहनु गम्भीर संकटको संकेत हो। ‘‘के अब नेपाललाई उद्योग नै नचाहिने हो?’’ उनले प्रश्न गरेका छन्।
गत दुई दिनयता आक्रोशित प्रदर्शनकारीले प्रमुख उद्योगपतिको सम्पत्तिलाई निसाना बनाएका छन्। व्यवसायी विनोद चौधरीको कार्यालय, घर र उद्योगमा आगजनी तथा तोडफोड भएको छ। आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्र ढकालको लगानीमा सञ्चालित चन्द्रागिरी र मौलाकालिका केबलकारमा क्षति पुगेको छ। त्यस्तै, मिनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी र लुटपाट भएको छ। पूर्व अध्यक्ष शेखर गोल्छासहित शंकर ग्रुपका उद्योगमा समेत आक्रमण भएको छ।
ठूला उद्योग मात्र होइन, विभिन्न होटल, रेस्टुरेन्ट र साना व्यवसायीको पसलदेखि निजी घरसम्ममा समेत तोडफोड र लुटपाट भएको छ। पूर्व अर्थसचिव रामेश्वर खनालले निजी सम्पत्तिमा भएको क्षति गम्भीर चिन्ताको विषय भएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनकारीलाई सम्पत्ति नष्ट नगरी संयमित हुन आग्रह गरेका छन्।
सोमबार सुरक्षा निकायको कारबाहीमा १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् हिंसात्मक बनेको हो। मंगलबार राजधानीदेखि विभिन्न प्रदेशसम्म सरकारी कार्यालय, सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, मन्त्री क्वाटर र नेताहरूका निवासमा समेत तोडफोड र आगजनी गरिएको छ।
लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामसमेत लुटिएको छ। सूचना अधिकारी अनिलकुमार महतोका अनुसार आन्दोलनकारीले करिब सात हजार क्विन्टल जिरा मसिना चामल, पाँच सय क्विन्टल सोना मन्सुली चामल र साढे तीन हजार क्विन्टल चिनी लुटेका छन्। त्यसपछि कम्पनीका सवारीसाधनमा समेत आगजनी गरिएको हो।
अहिलेसम्मको प्रारम्भिक अनुमानअनुसार सार्वजनिक तथा निजी सम्पत्तिमा अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितका सुरक्षाकर्मीहरू परिचालित छन्।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया