काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मुलुक संवेदनशील मोडमा पुगेको भन्दै संविधान खारेज गर्ने वा संसद् भंग गर्ने कदमले देशलाई गम्भीर संकट र अस्थिरतामा धकेल्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले संविधान संशोधन आवश्यक भए पनि निर्वाचनअघि संविधान र संसद् खारेज गर्नु राष्ट्रकै अस्तित्वमाथि प्रहार हुने बताएका छन्। ‘दशकौँको आन्दोलन र बलिदानीपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नैपर्छ, जसले जस्तो दुष्प्रचार गरे पनि,’ राउतको भनाइ छ।

advertisement

उनका अनुसार हालैको आन्दोलनलाई अवसरवादी शक्तिहरूले पर्दामागबाट प्रभावित पार्ने प्रयास गरिरहेका छन्, जसले मुलुकलाई अर्को दशकसम्म अस्थिरता र अनिर्णयको चक्रव्यूहमा फसाउने खतरा बढाएको छ। ‘संविधान र संसद् भंग भए अर्को १० वर्ष संविधान बनाउनमै बित्छ,’ उनले चेतावनी दिए।

राउतले अन्तरिम सरकार गठन गरी विद्यमान संसदलाई कायम राख्दै छ महिनाभित्र आम निर्वाचन गराउनुपर्ने सुझावसमेत दिएका छन्। ‘अहिले रिक्तता सिर्जना नगरी, निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि चुनी देशलाई अगाडि बढाऔं,’ उनले आग्रह गरे।

उनले आफ्नो सन्देशमा सातबुँदे कार्यक्रमसमेत सार्वजनिक गरेका छन् :

१. कानूनी राज्यको पूर्ण स्थापना — अस्थिरता र त्रास अन्त्य गरी सबै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने।

२. नेशनल टास्क फोर्स गठन — हरेक परिवारबाट एक स्वयंसेवक परिचालन गरी राष्ट्रियदेखि टोलस्तरसम्म पुनर्निर्माण, विकास र सुशासनमा खटाउने।

३. ट्राइब्यूनल गठन — आन्दोलनमा भएको जनधनको क्षति, हिंसा र भ्रष्टाचार छानबिन गरी सम्पत्ति राष्ट्रियकरण गर्ने र भविष्यमा ‘जिरो टोलेरेन्स’ नीति लागू गर्ने।

४. विश्व समुदायसँग सहकार्य — दातृ संस्था र बहुपक्षीय निकायसँग सहकार्य गरी लगानी सुरक्षित गर्ने र विकासका लागि सहयोग आह्वान गर्ने।

५. पुनर्निर्माण र विकास — युद्धस्तरमा टास्क फोर्स र स्वयंसेवक परिचालित गरी कार्य सुरु गर्ने।

६. उद्योग र रोजगारी प्रवर्द्धन — बेरोजगारी अन्त्य गर्ने खालका कार्यक्रम अघि बढाउने।

७. दश वर्षसम्म सम्पत्ति राष्ट्रियकरणको सम्भावना — नागरिकलाई आत्तिन नपर्ने गरी अस्थायी रूपमा राज्यलाई पूर्ण अभिभावकत्व दिने र दस वर्षपछि सम्पत्ति फिर्ता दिने मोडलबारे छलफल गर्ने।

राउतले आफ्नो सन्देशमा युवा पुस्तालाई सबै वर्ग, समुदाय र भूभागलाई आत्मसात गर्ने खालका निर्णय लिन आग्रह गरेका छन्। उनले भने, ‘देश कुनै निश्चित वर्ग वा समूहको मात्र होइन, मेची–महाकालीदेखि हिमाल, पहाड, तराईसम्म सबैको साझा घर हो।’

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com