काठमाडौं । गायिका तथा राजनीतिज्ञ कोमल वलीले जेनजी आन्दोलनको क्रममा आफ्नो पसिना र मेहनतले बनाएको सपना खरानी पारिए पनि आत्मसम्मान र देशप्रतिको माया कहिल्यै मेटिन नसक्ने बताएकी छन्।
आन्दोलनमा शहादत प्राप्त भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्। निर्दोष बालबालिकाले अनाहकमा ज्यान गुमाएको पीडाले आफू भित्रभित्रै चिरिएको अनुभव भइरहेको पनि उनले प्रकट गरिन्।
वलीले तुलसीपुरमा सञ्चालन गरेको ‘कोमल होटल’ तोडफोड र आगजनीमा परेपछि सामाजिक सञ्जालमार्फत आफ्नो मनको पीडा सार्वजनिक गरिन्। उनले भनिन्, गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना थियो। तर बीस वर्षअगाडि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा बनेको त्यो सपना आज खरानी बनाइयो।
उनका अनुसार उक्त होटल व्यक्तिगत मात्र नभई गाउँकै पसिना र श्रमसँग जोडिएको थियो। ‘म कुनै पाँचतारे होटलसँग प्रतिस्पर्धा गर्ने होइन, तर प्राकृतिक सौन्दर्यले गर्दा सबैको नजरमा परेको थियो, उनले लेखेकी छन्।
कोमल वलीले आफ्नो जीवन–यात्रा पनि स्मरण गरिन्। म हुँदाखाने होइन, सामान्य परिवारकी छोरी। बाल्यकालदेखि खेलकुद र गीतमार्फत प्रतिभा देखाएँ। गीत गाएरै छात्रवृत्ति पाएँ, कक्षा १० सम्म पढेँ। पछि रेडियो नेपालमा समाचार वाचन गर्दै करिब १८ वर्ष सेवा गरेँ, जहाँ मेरो स्वरमार्फत नेपाललाई चिनियो, उनले भनिन्।
संगीत र सञ्चारमा सक्रिय रहेकी वली २०७४ सालमा राष्ट्रिय सभामा सांसद निर्वाचित भइन्। उनले आफ्नो जीवन इमान र निष्ठामा अडिएको र कहिल्यै भ्रष्टाचार नगरेको स्पष्ट पार्दै, सेवामुखी जीवन बिताउने सङ्कल्पमै राजनीति रोजेकी हुँ, उनले भनिन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया