काठमाडौं । बृहत् नागरिक आन्दोलनले २०७२ सालको संविधानलाई मुलुकमा प्रतिक्रान्ति परास्त गर्ने सबभन्दा बलियो ढालको रूपमा सम्मान गर्दै यसको आधारमा जेन–जि आन्दोलनको सफलताको बाटो पहिल्याउनु आवश्यक रहेको जनाएको छ।

आन्दोलनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई पनि संविधानभन्दा बाहिरका क्रियाकलापमा सहकार्य भए आफ्नो स्थिति स्पष्ट पार्न आग्रह गरेको छ।

advertisement

बृहत् नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जेन–जि आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि पूर्वतयारी अनुसार नागरिक र राज्यका संस्थाहरूको भौतिक, आर्थिक र मानसिक नोक्सान गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेका छन्। यो अति डरलाग्दो र अस्वीकार्य छ। नेपाली सेनाको यस्तो भूमिका खेदजनक छ र तुरुन्त सुधारिनुपर्छ। यदि मेयर बालेनले पनि यिनै तत्वसँग सहकार्य गरिरहेका छन् वा सेनालाई नागरिकमाथि दबाब गर्न प्रेरित गरिरहेका छन् भने उनलाई प्रतिक्रान्तिका नायकको रूपमा चिन्नेछौँ। ‘

आन्दोलनले राष्ट्रपतिको अभिभावकत्वमा जेन–जि क्रान्तिको सफलताको बाटो सुनिश्चित गर्नु अहिलेको अत्यावश्यक आवश्यकता भएको पनि बताएको छ। ‘आगामी नागरिक सरकारले संविधानको आडमा उभिएर, संवैधानिक मार्गबाट मात्र भ्रष्टाचार र बेथितिविरुद्ध सतर्कतासाथ अघि बढ्नुपर्नेछ। सेनाले आफ्नो भूमिका पूरा गरोस्, प्रतिक्रान्तिकारीसँगको सम्पर्क तुरुन्त बन्द होस्, र आगामी छलफल तथा कार्यक्रम राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र होस्।’

यस्तो छ विज्ञप्ति

बृहत नागरिक आन्दोलन प्रतिक्रान्तिलाई परास्त गरौं !

अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ। यो हामीलाई पटक्कै स्वीकार्य छैन। जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो। यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौति हो।

जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ। नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनुपर्छ।

यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारून्।
जेनजी का भाइबहिनीहरू जो यो प्रतिक्रान्तिविरुद्ध हुनुहुन्छ र बृहत् नागरिक तप्काबाट सहयोग मागिरहनुभएको छ, उहाँहरूको साथ दिन यो देशका समग्र नागरिक, विभिन्न किसिमले संगठित राजनैतिक, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्छ। प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिंदैछ र उहाँहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौं।

यस सङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो। त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो। अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन।

यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्।

अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुछ। यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पमि नागरिक समाज तयार छ।
जेनजी क्रान्तिलाई सफल बनाऔं। प्रतिक्रान्तिलाई परास्त गरौं। शहीदको बलिदानलाई सार्थक बनाऔं।

मिति : २०८२ भदौ २६

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com