काठमाडौं । बिहीबार माइतीघर मण्डलामा संविधान हातमा लिएर शान्तिपूर्वक बसिरहेका अधिवक्ता राजु बम्जनको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनी कर्फ्यू लागू हुनु अघि नै त्यहाँ पुगेका थिए र सेनाको कडाइबीच संविधान पढिरहेका तस्बिरले व्यापक ध्यान खिचेको हो।
बम्जन बिहान करिब साढे ९ बजे सेतो सर्ट, कालो पाइन्ट र वकिलको पोसाकमा माइतीघर पुगे। बार काउन्सिलको लोगो लगाएको कोट र हातमा संविधान लिएर सडकछेउको प्रतिक्षालयमा बसेर उनले पढ्न थाले। सैनिक टोलीले पटक–पटक नाम, ठेगाना र पेशा सोध्दै त्यहाँबाट हट्न आग्रह गरे पनि उनले आफ्नो अभियान जारी राखे।
“जेनजी आन्दोलनको म भावनात्मक समर्थनमा छु तर समाधान संविधानको दायराभित्रै खोजिनुपर्छ,” उनले स्पष्ट पारे। बम्जनका अनुसार आफू शान्तिपूर्ण सन्देश दिन मात्र माइतीघर पुगेका थिए, हुलहुज्जत गर्ने वा शान्ति–सुरक्षा अवरोध गर्ने उद्देश्य नभएको बताए।
त्यस क्रममा अन्य केही कानुन व्यवसायी पनि उनको समर्थनमा पुगे तर उनी मौन बसे। सैनिकहरूले आसपासका सर्वसाधारणलाई हटाए पनि बम्जनलाई संविधान पढ्न केही समय अनुमति दिए। अन्ततः साढे १० बजे उनी त्यहाँबाट फर्किए।
उनको संविधान पढिरहेको र सैनिकले केरकार गरिरहेको दृश्य सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ। हतियारसहितको सुरक्षाकर्मीको बीचमा संविधान पढ्ने वकिलको तस्बिरले नागरिक अभिव्यक्तिको अनौठो स्वरूप देखाएको टिप्पणी भइरहेका छन्।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका बम्जन २०७२ सालमा संविधान जारी भएपछि कानुन अध्ययनमा लागेका हुन्। हाल स्नातकोत्तर स्तरमा पढिरहेका उनले पछिल्ला वर्षदेखि कानून व्यवसायमा सक्रिय भूमिका निभाइरहेका छन्। उनका अनुसार संविधानप्रतिको अपनत्व नै आफूलाई त्यहाँ पुर्याउने प्रमुख कारण हो।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया