काठमाडौं । नेपाल पत्रकार महासङ्घले जेन–जि पुस्ताका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने र त्यसको समाधान खोज्नु आवश्यक रहेको ठहर गरेको छ।
महासङ्घकी अध्यक्ष निर्मला शर्माले बिहीबार जारी गरेको अपिलमा देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरोधमा उठेका युवाहरूको आवाज दबाउन गरिएको सरकारी दमन निन्दनीय रहेको उल्लेख गरिएको छ।
आन्दोलनका नाममा सरकारी, सार्वजनिक र निजी संरचनामा भएको क्षतिको विषयमा महासङ्घले गहिरो दुःख व्यक्त गर्दै यसको दीर्घकालीन प्रभाव मुलुकले व्यहोर्नुपर्ने बताएको छ।
महासङ्घले शान्तिपूर्ण समाधानमार्फत् वर्तमान सङ्क्रमणकालीन अवस्था अन्त्य गर्न राष्ट्रपतिले संवैधानिक र राजनीतिक पहल गर्नुपर्ने जोड दिएको छ। अपिलमा भनिएको छ, ‘मुलुकलाई सहज निकास दिन वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत समाधान खोज्नु आवश्यक छ।’
त्यसैगरी, नयाँ सरकार गठनको पहल पनि राष्ट्रपतिबाट हुनुपर्नेतर्फ महासङ्घले ध्यानाकर्षण गराएको छ। ‘राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा सुरक्षा सुनिश्चित गर्न मात्र सुरक्षा निकायले हस्तक्षेप गर्ने हो; सरकार गठन र अन्य पहल राष्ट्रपतिबाटै हुनु पर्नेछ। यसका लागि पत्रकार महासङ्घसहित ६ वटा पेशागत सञ्जाल सहजीकरणका लागि तयार रहेको जानकारी महासङ्घले दिन्छ,’ अपिलमा उल्लेख छ।
महासङ्घले शान्ति सुरक्षा कायम गर्न हालै सेनाले खेलेको भूमिकालाई सराहनीय भनेको छ। ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन। तर, शान्ति सुरक्षा कायम गर्न सेनाले देखाएको भूमिका सराहनीय छ,’ अपिलमा उल्लेख गरिएको छ।


प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया