वीरगन्ज । जेनजी आन्दोलनपछि अव्यवस्थित बनेको सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन लगाइएको कर्फ्यू आदेश पर्सा प्रशासनले आंशिक खुकुलो पारेको छ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीबार सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी आदेश संशोधन भएको जानकारी दिएका हुन्।
अनुसार, कर्फ्यू बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म लागू हुनेछ। निषेधाज्ञा भने दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र रहनेछ। निषेधाज्ञा क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म सीमित गरिएको छ।
कर्फ्यू अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, फोहोर संकलन गर्ने गाडी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई छुट दिइनेछ। यस्तै, मानवअधिकारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन, नेपाल विद्युत प्राधिकरण, खानेपानी, दूध बोकेका गाडी, पर्यटकका सवारी तथा हवाई टिकट भएका यात्रुलाई पनि सहज आवतजावत गर्न दिने व्यवस्था गरिएको छ।
निषेधाज्ञाको समयमा सामान्य नागरिकले दैनिक उपभोग्य सामान किनबेच गर्न र सामान्य आवतजावत गर्न पाउनेछन्। तर पाँच जना वा सोभन्दा बढी भेला हुने, सभा–जुलुस गर्ने वा प्रदर्शन गर्न पूर्ण प्रतिबन्ध रहनेछ। आदेश उल्लङ्घन गर्नेविरुद्ध कानुनअनुसार कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया