काठमाडौं । सर्वोच्च अदालतले आगामी आइतबारदेखि आंशिक रूपमा आफ्नो सेवा पुनः सुरु गर्ने भएको छ।
सर्वोच्चका सबै न्यायाधीशहरूको सहभागितामा बिहीबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता र सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको हो।
गत मंगलबार जेन-जी आन्दोलन उग्र बनेपछि सर्वोच्च अदालतमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। त्यसयता अदालतको सम्पूर्ण सेवा ठप्प बनेको थियो।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतमा २०८२ भदौ २९ गते आइतबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनहरूको दर्ता तथा नियमित सुनुवाइ प्रारम्भ गरिने भएको छ। सर्वसाधारणलाई जानकारीका लागि यो निर्णय सार्वजनिक गरिएको छ।’
साथै, अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट पुगेको क्षति र न्यायालयका ऐतिहासिक दस्तावेजहरू लगभग नष्ट हुन पुगेको घटनाप्रति बैठकले गहिरो दुःख प्रकट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थिति बीच पनि संविधानले न्यायपालिकामाथि निहित गरेको दायित्व पूरा गर्दै जनताको मौलिक हक, विधिको शासन र न्यायप्राप्तिको अधिकारलाई सम्मान गर्ने प्रतिवद्धतासहित अदालतहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउने संकल्प व्यक्त गर्दछौं।’

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया