काठमाडौं । नेपाल बार एसोसिएशनले मुलुकको राजनीतिक निकास अहिलेको संविधानमै रहेको संवैधानिक प्रक्रियाबाट खोज्नुपर्नेमा जोड दिएको छ।
बारले बिहीबार राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संविधानसभा मार्फत बनेको संविधान यथावत छ, त्यसैले प्रतिनिधिसभा र संघीय संसदको सक्रिय भूमिकाबाटै समाधान खोजिनुपर्छ।’
राष्ट्रपतिलाई पठाइएको पत्रमा बारले आन्दोलनरत जेन–जी समूहले समेत संविधान वा व्यवस्था परिवर्तनको माग नगरेको तथ्य स्मरण गराउँदै अहिलेको संरचनामै वैधानिक बाटो अपनाएर निकास निकाल्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकारी शक्तिहरूको माग सरकार परिवर्तनमा केन्द्रित छ। हालै सुरु भएको यही प्रक्रियालाई संविधानको धारा ७६, ७७, ७८ र धारा ६१ को मर्मअनुसार अघि बढाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिन्छ, त्यसका लागि आवश्यक पहल तत्काल प्रारम्भ गर्न अपिल गर्दछौं।’
बारले लोकतान्त्रिक मूल्य–मान्यता विपरीतका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको मर्ममाथि आँच आउने खालका प्रयास भए प्रतिरोध गर्ने चेतावनीसमेत दिएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया