काठमाडौं । नेपाल आयल निगमले मुलुकभर पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा मौज्दात रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार हाल स्टक प्रशस्त छ र भन्सार नाकाबाट आपूर्ति पुनः सुरु भएकाले कुनै अभाव नपर्ने स्पष्ट भएको छ।
उनका अनुसार सोमबारदेखि चर्किएको जेन–जी आन्दोलनपछि भारतीय नाकामा कडाइ गरिए पनि पाइपलाइनमार्फत आपूर्ति अबरुद्ध नभएको छ। ‘आज बिहानैदेखि भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन छुट्न थालेका छन्,’ भट्टले जानकारी दिए।
एलपी ग्यासका बुलेटहरू पनि नियमित रुपमा नेपाल प्रवेश गरिरहेका कारण ग्यास आपूर्तिमा कुनै समस्या नपर्ने निगमले जनाएको छ।
भट्टका अनुसार काठमाडौँमा पेट्रोलियम पदार्थ करिब ७५ देखि ८० प्रतिशत क्षमतामा मौज्दात छ। यसले गर्दा एक–दुई दिन आपूर्ति रोकिए पनि कम्तीमा १०–१२ दिनसम्म सहजै धान्न सकिने अवस्था छ।
हवाई इन्धनको स्थिति पनि सन्तोषजनक रहेको उनले बताए। करिब ७ हजार ५ सय किलोलिटर क्षमतामध्ये हाल ६ हजार किलोलिटर मौज्दात छ, जसले करिब १३–१४ दिनको माग सहजै पूरा गर्न सक्ने उनको भनाइ छ।
यातायात सञ्चालन न्यून भएकाले हवाई इन्धनको खपत पनि सामान्य दरमा रहेको निगमले जनाएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया