काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले संविधानको संरक्षण हुने गरी छिटो नयाँ सरकार गठन गर्नुपर्ने आग्रह राष्ट्रपति रामचन्द्र पौडेललाई गरेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै एनटीयूसीले भ्रष्टाचार, कुशासन र दण्डहीनताविरुद्ध उठेको जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न जटिल राजनीतिक परिस्थितिको निकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको जनाएको हो।
संघले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण ३१ युवाले ज्यान गुमाउनुका साथै सयौँ घाइते भएको र २४ गतेको आन्दोलनमा अराजक समूहको घुसपैठले ऐतिहासिक भवन, प्रशासनिक तथा व्यापारिक संरचनामा आगजनी, तोडफोड र लुटपाट गर्दै खर्बौँको क्षति पुर्याएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
एनटीयूसीले यस्ता अराजक गतिविधिहरू जेनजी आन्दोलनकारीहरूको मूल भावना विपरीत केही स्वार्थी समूहबाट गराइएको ठहर गर्दै ती घटनाको कडा निन्दा गरेको छ। ‘यस्ता कार्यले मुलुकलाई समृद्धिको यात्राबाट दशकौँ पछाडि धकेलेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
संघले सबै घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कठोर कारबाही गर्न र जेनजीले उठाएका भ्रष्टाचारविरोधी मागहरूलाई नयाँ सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।
वर्तमान घटनाक्रमले मुलुकलाई अत्यन्तै तरल अवस्थामा पुर्याएको र तत्काल राजनीतिक निकासप्रति अनिश्चितता बढेको भन्दै एनटीयूसीले गम्भीर ध्यानाकर्षण गराएको छ।
श्रमिकहरूको जिम्मेवार संगठनको नाताले संवैधानिक विधि र संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै एनटीयूसीले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, संघीय लोकतान्त्रिक प्रणालीको रक्षा र शान्तिपूर्ण समाधानका लागि सबै पक्षलाई संयमता र धैर्य अपनाउन अपिल गरेको छ।


प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया