काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी पुस्ताको अनिवार्य सहभागितासहित सर्वपक्षीय सहमतिबाट अघि सारिने प्रधानमन्त्री पदका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेको छ।
बिहीबार साँझ जारी विज्ञप्तिमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले ती उम्मेदवारले व्यापक राजनीतिक अनुमोदन पाउने विश्वास व्यक्त गर्दै शुभेच्छा दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभाको स्थायित्व र गतिशीलता कायम राख्दै अन्तरिम सरकारले आगामी प्रतिनिधिसभा निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा जनादेश आवश्यक ठान्छ। आन्दोलनको म्यान्डेट र जनअपेक्षाबीच सन्तुलन गर्नुपर्छ भन्नेमा रास्वपा स्पष्ट छ।’
अर्यालले राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादमार्फत आसन्न संक्रमणकालीन राजनीतिक यात्रामा आवश्यक संरक्षकत्व सुनिश्चित हुने अपेक्षा पनि प्रकट गरेका छन्।
त्यससँगै उनले भदौ २३ को जेन–जी आन्दोलनमा भएको दमन, त्यसपछि देखिएका मानवीय क्षति र सम्पत्तिमाथि भएका आक्रमणसम्बन्धी घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न आग्रह गरेका छन्। साथै, २०४६ पछिका प्रमुख भ्रष्टाचार मुद्दाहरूमा निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणका लागि नयाँ सरकार बनेको १५ दिनभित्र स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन्।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया