काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले भ्रष्टाचार र बेथितिका विरुद्ध आवाज उठाइरहेका युवाहरूका जायज मागहरू संविधानभित्रै रहेर सम्बोधन गर्नुपर्ने बताएका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. कोइरालाले जेनजी पुस्ताका युवाहरूले उठाएको आवाजप्रति पूर्ण समर्थन जनाउँदै भने, “जहानिया राणा शासनकालदेखि नै लोकतन्त्रका लागि सङ्घर्ष गर्दै आएको मेरो परिवार र नेपाली कांग्रेसको सदस्यको हैसियतले म लोकतान्त्रिक विधि र प्रक्रियामार्फत सबै आन्दोलनका न्यायोचित मागहरूको समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु।”
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै डा. कोइरालाले शोक सन्तप्त परिवारहरूलाई गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, उनले आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य नेता तथा कार्यकर्ता, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएका आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
त्यसैगरी, उनले सरकारी तथा निजी सम्पत्ति, सञ्चार गृह, उद्योग, व्यवसाय, कलकारखाना र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमणजस्ता हिंसात्मक गतिविधिहरूको कडा विरोध गरेका छन्।
आन्दोलनपछिको राजनीतिक रिक्तता तुरुन्तै भरिनुपर्ने आवश्यकता औंल्याउँदै डा. कोइरालाले मुलुकभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संविधानसम्मत रूपमा शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताए। यस प्रक्रियामा जेनजी पुस्ताका युवाहरूको सकारात्मक भूमिका रहनेमा पनि उनले विश्वास व्यक्त गरे।
उनले वर्तमान संविधान ६५ वर्ष लामो संघर्ष, बलिदान र त्यागको फलस्वरूप जननिर्वाचित संविधानसभाबाट निर्माण भएको स्मरण गराउँदै अबको राजनीतिक यात्रा पनि यही संविधानको परिधिभित्र रहेर अघि बढ्नुपर्ने बताए।
अन्तमा, संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको सक्रिय पहलप्रति प्रशंसा व्यक्त गर्दै उनले त्यस पहलमा सबैको समर्थन रहने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया