ठाकुरबाबा । गएराति परेको अविरल वर्षापछि आएको बाढीले ठाकुरबाबा नगरपालिकाका तीन वटा वडामा करिब दुईसयभन्दा बढी घर डुबानमा परेका छन्।
बिहीबार साँझ गिठेनाला र ओहरी खोलाबाट आएको बाढीले ठाकुरबाबा नगरपालिका वडा नं. ६, ७ र ८ मा भारी क्षति पुर्याएको हो। स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार कर्मला कालीगौडी, सुन्दरपुर, मुक्तिपुर, जाउला खोखरपुर, गोब्रेला, तल्लो बनखेत, माथिल्लो बनखेत, चिटकैया लगायतका बस्तीहरू जलमग्न भएका छन्।
बाढीबाट प्रभावित भएकाहरूको उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, स्थानीयवासी तथा जनप्रतिनिधिहरू सक्रिय छन्।
नगरपालिकाका उपप्रमुख बिना भट्टराईले बाढीमा अहिलेसम्म मानवीय क्षति नभएको जानकारी दिँदै प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको बताइन्।
“केही मानिसहरू घरको छतमा बस्न बाध्य हुनु भएको छ भने केहीलाई अस्थायी रूपमा विद्यालयमा राखिएको छ,” उपप्रमुख भट्टराईले भनिन्, “आज दिनभर उद्धार गरी सबैलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिनेछ।”
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया