काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्नु सकारात्मक र सान्दर्भिक निर्णय भएको बताएका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “नयाँ नेपालको नेतृत्व गर्न तयार भएका जेनजीका युवाहरूले सुशीला कार्कीजस्तो सक्षम र निष्ठावान व्यक्तित्वलाई अगाडि सार्नु सकारात्मक मात्र होइन, समयानुकूल निर्णय पनि हो। देशभरबाट वहाँलाई साथ र समर्थन दिनु जरुरी छ।”

advertisement

डा. भट्टराईले वर्तमान संवैधानिक अन्योल अन्त्य गर्न राष्ट्रपतिले संविधानको मर्मअनुसार विधिवत् रूपमा शपथ गराएर प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले यो कार्य संविधानविद्हरूको सुझावमा, विधिसम्मत र लोकतान्त्रिक ढंगबाट गर्नुपर्ने बताएका छन्।

उनले २०६९ सालमा खिलराज रेग्मीलाई अन्तरिम प्रधानमन्त्री बनाइएको उदाहरण अहिलेको स्थितिसँग मेल नखाने स्पष्ट पारे। “त्यतिबेला कार्यरत अन्तरिम संविधानमा ‘राजनीतिक सहमतिको आधारमा’ निर्णय गर्न सकिने व्यवस्था थियो, र ‘राजनीतिक सहमति’ भन्नाले सात दल र माओवादीबीचको सहमति बुझिन्थ्यो,” उनले स्मरण गराए, “तर अहिलेको संविधान निर्वाचित संविधानसभाबाट बनेको स्थायी संविधान हो, जसमा त्यस्तो व्यवस्था छैन। त्यसैले जेनजीले यो विषयमा गम्भीर र संवेदनशील ढंगले विचार गर्नुपर्छ।”

उनले थपे, “हालको आन्दोलनभन्दा पनि गहिरो संघर्ष र बलिदानबाट जन्मिएको नेपालको पहिलो संविधान भएकाले यसैको आधारमा अघि बढ्नु जेनजीका लागि दीर्घकालीन रूपमा लाभदायक हुनेछ।”

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com