काठमाडौं । अन्तरिम सरकार गठनबारे शीतल निवासमा बिहान ९ बजे निर्धारित वार्ता आन्तरिक तयारीका कारण सारिएर अब दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार आवश्यक पूर्वतयारी पूरा गर्न समय लाग्ने भएकाले समय परिवर्तन गरिएको हो ।
अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विगत दुई दिनदेखि राजनीतिक दलका शीर्ष नेता, संविधानविद्, कानुनविद् र जेन–जेड पुस्ताका प्रतिनिधिहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।
वार्तामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा प्रारम्भिक सहमति बने पनि संविधानअनुसार प्रक्रिया कसरी अगाडि बढाउने भन्नेमा अझै स्पष्टता छैन । बिहीबार मध्यरातबाट सुरु भएको सर्वपक्षीय बैठक शुक्रबार बिहान ३ बजेसम्म चले पनि संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधान राखेकाले कार्कीलाई नियुक्त गर्ने विषयमा साझा निष्कर्ष निकाल्न सकिएन ।
यसबीचमा जेन–जेड आन्दोलनमा संलग्न युवाले संसद् विघटनको सवाललाई मुख्य मुद्दा बनाउँदै दबाब सिर्जना गरिरहेका छन् । सोही सन्दर्भमा राष्ट्रपति पौडेलले संविधानको धारा ६१(४) मा उल्लेखित ‘बाधा अड्काउ फुकाउने’ अधिकार प्रयोग गर्न सकिने वा नसक्नेबारे संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग कानुनी परामर्श समेत गरेका छन् ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया