काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गते भएको घटनाप्रति पार्टीको तर्फबाट औपचारिक माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत शुक्रबार उनले भिडियो सन्देश जारी गर्दै सो दिन घटेको अकल्पनीय घटनाले कांग्रेसको अनुहारमा दाग लागेको स्वीकार गरे।
‘भदौ २३ गते हामी कसैले पनि नचाहेको घटना भयो। तपाईं र म सरकारमा थिएनौं, तर हाम्रो पार्टी सरकारमा थियो। त्यसकारण हाम्रो अनुहारमा दाग परेको छ। यो दाग ऐना पुछेर हट्दैन, हामी आफैंले पुर्नुपर्छ। कांग्रेस पार्टीले सिंगो देशसँग क्षमायाचना गर्नुपर्छ,’ थापाले पार्टी कार्यकर्तामार्फत अपिल गर्दै भने।
उनले भदौ २४ गतेको घटनाले पनि ठूलो क्षति पु¥याएको उल्लेख गरे। ‘पार्टीका कार्यालयदेखि लिएर ऐतिहासिक सम्पदा र कार्यकर्ताहरूको घरसमेत तोडफोड र आगजनीमा परे। सयौं साथीमाथि आक्रमण भयो। स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, तर योजनाबद्ध रूपमा भएको घटनाका दोषीलाई भने कानुनी दायरामा ल्याउनैपर्छ,’ उनले स्पष्ट पारे।
थापाले नयाँ सरकार गठन भएपछि भदौ २३ र २४ मा भएका सबै अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने कांग्रेसको माग रहने बताए। साथै, पुनर्निर्माणको नेतृत्व कांग्रेसले लिनुपर्नेमा जोड दिँदै उनले विगतमा माओवादीसँग मिलेर घाउ चोप्न कांग्रेसले भूमिका खेलेको स्मरण गरे। ‘उत्तेजना बढाउने होइन, सबैलाई जोड्ने पहल हामीले गर्नुपर्छ,’ उनले भने।
वर्तमान संकट समाधानका लागि कांग्रेसले सक्रिय पहल गरिरहेको थापाले खुलाए। उनका अनुसार राष्ट्रपति, अन्य दल र आन्दोलनकारीहरूसँग निरन्तर संवाद भइरहेको छ। ‘जेनजी आन्दोलनकारी साथीहरूले राखेका मागलाई सम्बोधन नगरी देश अघि बढ्न सक्दैन। अन्तरिम सरकार बनाउने चर्चा चलिरहेको छ। सम्भवत: आज साँझसम्म टुंगो लाग्ला। आन्दोलनकारीहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ, र त्यसको वातावरण बनाउन हामी जुटिरहेका छौं,’ महामन्त्री थापाले भने।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया