काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग प्रशासन पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले जेन–जेड आन्दोलनका मागअनुसार गठन हुने सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयारी अवस्थामा रहेको बताए।

advertisement

‘हामी चाहन्छौं कि युवाहरूले उठाएका मागहरू चाँडै सम्बोधन हुने गरी सरकार गठन होस्,’ उनले भने, ‘त्यो सरकारसँग काम गर्न प्रशासन तयार छ।’

अर्यालले मुलुकका अत्यावश्यक सेवा अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाको प्रभावकारिता बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको जानकारी पनि दिए। उनले बताए कि राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सञ्चालनमा आएको छ।

सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हालिरहेको र हाल सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको अर्यालले बताए। ‘हिजोदेखि राहदानी र वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु भइसकेका छन्। खानेपानी, विद्युत, टेलिफोन लगायतका अत्यावश्यक सेवाका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसक्यौं,’ उनले भने।

प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने जानकारी दिए। ‘सरकार गठन भएपश्चात् मन्त्रालयमार्फत हुने सेवाहरूको व्यवस्थापन निरीक्षणपछि गरिरहेका छौं। क्षति कम भएका क्षेत्रमा प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको छ,’ उनले स्पष्ट पारे।

अर्यालले सिंहदरबारबाटै सरकार गठन हुने सम्भावना रहेकाले त्यस अनुसार प्रशासनिक व्यवस्थापन अघि बढाइने पनि बताए।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com