काठमाडौं । अभिनेता दिपकराज गिरीले आफूलाई फोन र म्यासेज मार्फत धम्की प्राप्त भएको बताएका छन्। उनी जेन–जेड आन्दोलनको पक्षमा रहेका कारण यस्तो धम्की आएको उनले बताएका छन्।
गिरीले फेसबुकमा लामो स्टाटसमा लेखेका छन्, ‘जेन–जेडलाई उकास्ने तँ? कलाकार भएर जेन–जेड तिर लाग्ने? सबै हिसाब राखिन्छ।’ उनले केही कल रेकर्ड समेत गरेर राखेको जानकारी दिएका छन्।
आन्दोलनका क्रममा साना बालबालिकाको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखेपछि कुनै पनि व्यक्ति चुपचाप बस्न नसक्ने अवस्था भएको उनले बताए।
गिरीले थपे कि आफू र अन्य कलाकारहरूले हिंसा रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध पनि गरेका थिए भने केही कलाकार सडकमा नै निस्किएका थिए। तर प्रधानमन्त्रीको राजीनामा ढिलाइ भएको कारण हिंसा झन् भड्किएको उनले बताए। साथै, हिंसा भड्किएपछि आन्दोलनमा स्वार्थ समूह र सरकार विरोधी पार्टीका कार्यकर्ताहरूको पनि घुसपैठ भएको उनले बताए।
‘स्वार्थ समूह आन्दोलनमा घुसे पनि आन्दोलन सफल रह्यो। तर विध्वंसले कसैको मन खुसी भएन, मन भारी रह्यो,’ उनले लेखे। गिरीले सरकार पक्षीय मानिसहरूले आफ्नो गल्ती छोप्न धम्कीपूर्ण स्टाटस लेखिरहेको पनि उल्लेख गरे।
यस्ता धम्कीबाट आफू विचलित नहुने भन्दै उनले २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको आन्दोलनमा आफू सडकमै उभिएर परिवर्तनको पक्षमा रहेको स्मरण गराए।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया