काठमाडौँ । जेनजी आन्दोलनकारीको मागअनुसार पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति भए पनि आन्दोलनमा भएको दमन र भ्रष्टाचारसम्बन्धी छानबिनबारे दलहरूबीच मतभेद देखिएपछि सरकार गठन प्रक्रिया अड्किएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रमुख दलका नेताहरूबीच छलफल भइरहेको छ। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा भएको ३४ जनाको मृत्यु र बल प्रयोगबारे उच्चस्तरीय छानबिन गर्न अस्वीकार गरेका छन्।
दलहरूले छानबिन आयोग गठनले दलविरुद्ध जनआक्रोश बढाउने भन्दै असहमति जनाएका हुन्। यही कारण अन्तरिम प्रधानमन्त्रीका लागि प्रस्तावित सुशीला कार्कीले ‘हातखुट्टा बाँधेर काम गर्ने जिम्मेवारी चाहिँ स्वीकार्य छैन’ भन्दै असन्तुष्टि प्रकट गरेकी थिइन्।
राष्ट्रपति पौडेल संविधानको दायरामा रहेर समाधान खोज्ने प्रयासमा रहेका छन्। उनले तीन दलका शीर्ष नेताहरू र सभामुख देवराज घिमिरेसँग बिहीबारदेखि शुक्रबार बिहानसम्म लामो छलफल गरेका थिए। तर शुक्रबार दिउँसो पुनः वार्ता गर्ने तयारी भए पनि सरकार गठन प्रक्रिया अहिलेसम्म अघि बढ्न सकेको छैन।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया