काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशभक्ति, लोकतन्त्र र मुलुकको समृद्धिको आकाङ्क्षा राख्ने सबै राजनीतिकर्मीहरूलाई पार्टीभित्रको बाध्यता र सीमिततालाई तोडेर खुला छलफलमा आउन अपिल गरेका छन्।
भुसालले शुक्रबार जारी अपिलमा वर्तमान राजनीतिक संकटको मुख्य कारण नेताहरूमा नैतिक मूल्य र जिम्मेवारीको कमी रहेको उल्लेख गर्दै भने, ‘लोकतान्त्रिक गणतन्त्रले खोजेको नेतृत्व र नैतिक मूल्यको अभावका कारण आज हामी यस्तो चुनौतीपूर्ण दिन सामना गर्दैछौँ। हाम्रो पार्टीलाई व्यक्तिगत स्वार्थका लागि कमजोर बनाइएको मूल्यको परिणाम हामी भोग्दैछौँ।’
उनले पार्टी नेतृत्वमा आफ्नो सुविधा र पद खोसिन नपरोस् भन्ने डरका कारण भर्ती गरिएका व्यक्तिहरूले नेतृत्वको बहुमतलाई यथास्थितिको पक्षमा उभ्याएको अवस्था स्मरण गराए।
भुसालले अपिलमा सबै देशभक्त, लोकतन्त्रप्रेमी र देशको समृद्धि चाहने राजनीतिकर्मीहरूलाई एकजुट हुन आग्रह गर्दै भने, ‘हामीसँग एउटै विचार छ—नेताहरूका स्वार्थले सिर्जना गरेका खाल्डा र रेखाले मात्र हामीलाई विभाजित गरेको छ। जब हामी एकजुट भएर उभिन्छौँ, तब एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ। अहिले हामीलाई केवल एउटै सङ्कल्प चाहिएको छ—हामीलाई बाँड्ने सबै बन्धन टुटाउन तयार रहौँ।’
साथै उनले आन्दोलनमा बौद्धिक, सांस्कृतिक र सक्रिय योगदान दिने बुद्धिजीवी, समर्थक तथा शुभचिन्तकहरूलाई पनि सहभागी हुन आह्वान गरे।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया