काठमाडौं । आम जनता पार्टी (आजपा)ले संसद् विघटन गरी नयाँ सरकार गठन र नयाँ संविधान निर्माणतर्फ अग्रसर हुन सबै सरोकारवालाहरूमाथि अपिल गरेको छ।
पार्टीका अनुसार, नेपाली जनताले वर्तमान संविधान र सरकार दुवै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनु कुनै औचित्य राख्दैन। जेन–जी पुस्ताको नेतृत्वमा भएको ताजा जनआन्दोलनले प्रकट गरेको जनादेशलाई स्वीकार गरेर देशलाई सुधार र परिवर्तनको दिशामा अघि बढाउन नसक्नु गम्भीर चिन्ताको विषय हो।
आजपा प्रवक्ता चन्द्रभुषण साहले शुक्रबार जारी प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा अबोध युवा विद्यार्थीमाथि गरिएको नरसंहार र हत्या सम्बन्धी दोषीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग राखेका छन्। उनका अनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित सरकारी अधिकारीहरू, जसले उक्त क्रूर घटनाको नेतृत्व र सहभागिता गरेका थिए, उनीहरूलाई दण्डित गर्न आवश्यक छ।
साथै विज्ञप्तिमा भनिएको छ, ‘राज्य सञ्चालनको उच्च तहमा रहेका सम्पूर्ण शासक र प्रशासकहरूको सम्पत्तिको स्रोत छानबिन गरी दोषी ठहर हुनेहरूलाई कानुन अनुसार कारबाही गर्नु आवश्यक छ। संसद् विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणतर्फ अघि बढ्नु वर्तमान संकटको वैधानिक निकास हो।’
आजपा पछाडि हटेर यथास्थितिमा रमाउने प्रवृत्तिलाई अस्वीकार गर्दै चेतावनी दिएको छ। पार्टीका अनुसार राष्ट्रपतिजस्ता सम्मानित संस्थाहरूले आन्दोलनका नेतृत्व र परिवर्तन पक्षधर शक्तिसँग संवाद गर्नुको सट्टा पुराना यथास्थितिवादी र प्रतिक्रियावादी धारसँग छलफल गर्नु स्वीकार्य छैन। यस्तो कदम सडकबाट प्राप्त जनादेश, नागरिक स्वतन्त्रता र जनआन्दोलनको भावना विरुद्ध हुने उल्लेख विज्ञप्तिमा छ।
आजपा भ्रष्टाचारको जरा वर्तमान राज्य व्यवस्थामा रहेको निष्कर्षमा पुगेको छ। पार्टीको भनाइमा, ‘भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेशदेखि स्थानीय तहसम्म र सरकारी सबै निकायमा व्यापक छ। केवल अनुहार परिवर्तन गरेर भ्रष्टाचारको अन्त्य सम्भव छैन। यस प्रणालीको सुधार बिना सुशासन र परिवर्तन सम्भव छैन।’
विज्ञप्तिमा भनिएको छ, ‘सर्वभौम जनताले संसद्, सरकार र यसको विधि विधानलाई सडकमार्फत अस्वीकार गरिसकेको अवस्थामा संविधानवादको रटान गर्नु हास्यास्पद हो। भ्रष्ट, दलाल, लुटेरा र भगौडा वर्गको पक्षपोषण गर्ने वर्तमान संविधान निर्माताले माफी मागेर बाटो छोड्नुको सट्टा आफूलाई केन्द्रमा राखेर ‘संविधान रक्षाको नाटक’ गर्नु जनतालाई थप विद्रोह र नयाँ समस्या खडा गर्न उक्साउनु जस्तो हो।’
आजपा जनविद्रोहको मर्मलाई तुरुन्त सम्बोधन नगरी विभिन्न आवरणमा अल्झाउने र खेलाउने प्रक्रिया दुःखद रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया