काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति भएको छ। सहमतिसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै उक्त पदमा नियुक्त गर्ने तयारी गरेका छन्।
राष्ट्रपतिका प्रेस प्रवक्ता किरण पोखरेलका अनुसार, कार्कीलाई बिहान ९ बजे शपथ ग्रहण गराइनेछ।
नयाँ सरकार गठनका लागि अघि बढाइएको प्रक्रिया अन्तर्गत, पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा टोली शीतल निवास पुगेको थियो। यस टोलीमा जेन–जी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि सहभागी थिए। टोलीले नयाँ सरकार गठनका विषयमा राष्ट्रपति सँग छलफल गरेको थियो।
कार्कीलाई अन्तिम सरकारको प्रमुखमा नियुक्त गर्ने विषयमा सहमति भए पनि संसद् विघटनको विषयमा सहमति जुट्न सकेको छैन। दुवै पक्ष आफ्ना अडानमा कायम रहेका छन्। यसबारे थप औपचारिक जानकारी कार्कीको नियुक्तिसँगै सार्वजनिक गरिने पोखरेलले बताए।
स्मरणीय छ, भदौ २३ र २४ गतेका जेन–जी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति पौडेलले सोही दिन राजीनामा स्वीकृत गरेका थिए।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया