काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्दै उक्त कदम संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद् विघटन गरेपछि शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कडा आपत्ति जनाएको हो।

advertisement

बैठकपछि निर्णय सार्वजनिक गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत छ। यो कदम संविधानसम्मत छैन। यसले लोकतान्त्रिक उपलब्धिलाई धरापमा पार्नुका साथै जेनजी आन्दोलनको भावना र मर्मलाई समेत निष्प्रभावी बनाउने आशंका पैदा भएको छ।’

सभापति शेरबहादुर देउवा आन्दोलनका क्रममा घाइते भएकाले बैठक उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको थियो। बैठकमा सातै प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू समेत सहभागी थिए।

यसअघि भदौ २५ गते कांग्रेसले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई संवाद र सहमतिको बाटोबाट समाधान खोज्न आग्रह गरेको थियो। सो विज्ञप्तिमा जेनजी आन्दोलनले प्रस्ताव गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने र त्यसलाई संविधानसम्मत बनाउन आवश्यक परे संसदमार्फत संविधान संशोधन गर्न सकिने सुझाव कांग्रेसले दिएको थियो।

कांग्रेसले आफ्नो प्रस्तावमा आन्दोलनकारीको माग सम्बोधन हुने, प्रधानमन्त्री नियुक्ति संविधानसम्मत हुने र सबै पक्षलाई स्वीकार्य हुने अवस्था सिर्जना हुने तर्क गरेको थियो। तर सहमतिपूर्ण बाटो छाडेर संविधानविपरीत संसद् विघटनतर्फ अघि बढ्नु दुर्भाग्यपूर्ण भएको कांग्रेसको टिप्पणी छ।

भदौ २३ र २४ गतेका अप्रिय घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने र संविधानसभाबाट निर्माण भएको संविधानले सुनिश्चित गरेका उपलब्धि जोगाउनुपर्ने आवश्यकता कांग्रेसले जोड दिएर उल्लेख गरेको छ।

कांग्रेसले भनेको छ, ‘यस अवस्थामा कसैले उत्तेजना नफैलाओस् र संवैधानिक रिक्ततालाई आधार बनाएर दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्साहस नगरियोस्। यो गुरुतर जिम्मेवारीमा नेपाली कांग्रेस गम्भीर रहनेछ।’

बैठकले परिस्थिति थप बिग्रन नदिन पार्टीभित्र, अन्य राजनीतिक दल तथा नागरिक समाजसँग निरन्तर संवाद–परामर्श गर्ने र शान्ति, लोकतन्त्र तथा समृद्धितर्फ अघि बढ्न नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ।

त्यससँगै कांग्रेसले स्वदेश तथा विदेशमा रहेका आफ्ना सदस्य, शुभेच्छुक र सम्पूर्ण नेपालीलाई संयम, धैर्य र एकताको भावनासहित परिस्थितिलाई सामना गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com