काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जेन जेड आन्दोलनको प्रभावले मुलुकको राजनीतिक समीकरण फेरिएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले भदौ २३ र २४ गतेका घटनापछि दुई ठूला दल सत्ता बाहिरिन बाध्य भएको उल्लेख गर्दै नयाँ सरकारप्रति आम नागरिकको विश्वास टिक्ने अपेक्षा व्यक्त गरे ।

कोइरालाले आन्दोलनले उत्पन्न गरेको चेतना र युवाको ऊर्जाले नयाँ राजनीतिक अध्याय सुरु गरेको स्वीकारे पनि आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधिको भने कडा आलोचना गरे । विशेषगरी, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उनकी पत्नीमाथि भएको हातपातलाई उनले ‘जघन्य अपराध’ को संज्ञा दिए ।

advertisement

उनले भने, हामी चुक्यौँ, समयको पदचाप बुझ्न सकेनौँ । त्यसकै परिणाम स्वरूप दुई ठूला दल सत्ता बाहिरिए । अब युवाको चाहना र समाजको भावनालाई आत्मसात् गर्दै शक्तिशाली राष्ट्र निर्माणमा समर्पित हुनेछौँ ।

कोइरालाले काँग्रेसका पुराना नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको संघर्षलाई स्मरण गर्दै लोकतान्त्रिक समाजवादलाई पुनः सशक्त बनाउन प्रतिवद्धता जनाए ।

भदौ २४ गते विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा आगजनी हुँदा भएको क्षतिबारे भावुक हुँदै उनले भने,  कोइराला निवास खरानी हुन सक्छ, तर विपी विचारलाई जलाउन सकिँदैन । त्यही खरानीबीचबाट काँग्रेसको नवनिर्माण हुनेछ ।

उनले दशैँपछि देशव्यापी बहस, छलफल र संगठनात्मक नवीकरण अभियान सुरु गर्ने घोषणा गर्दै पार्टीलाई ‘जनताको केन्द्रमा बस्ने काँग्रेस’ बनाउने संकल्प पनि व्यक्त गरे ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com