काठमाडौं । अल्बेनियामा विश्वकै पहिलो एआई मन्त्री नियुक्त गरिएको छ। यो कृत्रिम बुद्धिमत्ता सम्बन्धी मन्त्रालय नभएर एआईबाटै बनेको मन्त्री हो।
अल्बेनियाका प्रधानमन्त्री एडी रामाले सार्वजनिक खरिद विभागको जिम्मेवारीका लागि यो एआई मन्त्री नियुक्त गरेका हुन्। भर्चुअल मन्त्रीको नाम डिएला राखिएको छ, जुन अल्बेनियाली भाषामा ‘सूर्य’ अर्थमा प्रयोग हुन्छ।
यो नियुक्ति प्रतीकात्मक रहेको छ। अल्बेनियाको संविधानअनुसार मन्त्री बन्न कम्तीमा १८ वर्ष पुगेको, मानसिक रूपमा सक्षम नागरिक हुनुपर्छ। तथापि, एआई मन्त्रीको प्रयोगबाट भ्रष्टाचार रहित, छिटो, दक्ष र पारदर्शी प्रशासन लागू गर्न सकिने दाबी गरिएको छ। यसले खर्चको दुरुपयोग र अनियमिततालाई रोक्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री रामाले भने, ‘अब अल्बेनियाले १०० प्रतिशत भ्रष्टाचारमुक्त सार्वजनिक टेण्डर प्रणाली लागू गर्नेछ।’ डिएला एआई भर्चुअल असिस्टेन्टको रूपमा नागरिकलाई सरकारी कागजात लिन मार्गदर्शन गर्दैछिन्।
विपक्षी डेमोक्र्याटिक पार्टीले यस कदमलाई हास्यास्पद र असंवैधानिक भनेको छ भने, केही भ्रष्टाचारविरोधी विज्ञहरूले एआईको प्रयोगलाई लाभकारी ठानेका छन्।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया