सुर्खेत । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको नगरप्रमुख मोहनमाया ढकालको दुई तले घर जलेर पूर्णरूपमा नष्ट भएको छ। पैतृक सम्पत्ति र उनका श्रीमानको आयस्रोतबाट बनेको आठ कोठे घरभित्रका चल-अचल सम्पत्ति समेत लुटपाटसँगै खरानी बनेको ढकालले जानकारी दिएकी छन्।

मेयर ढकालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नगर विकासका कामकै कारण परिवारले यस्तो अन्याय भोग्नुपरेको हो कि भन्ने प्रश्न उठाइन्। उनका अनुसार घरको पहिलो तला २०५९ सालमा र दोस्रो तला २०६५ सालमा बनेको थियो। घरको सम्पत्ति मेरो श्रीमानले २५ वर्ष अंग्रेजी शिक्षक भएर गरेको मेहनत र पैतृक योगदानले जुटाइएको हो, उनले उल्लेख गरिन्।

advertisement

ढकालले आफ्नो कार्यकालमा सडक विस्तार, सार्वजनिक पार्क र पार्किङ निर्माण, पैदल मार्ग र फुटपाथ विकास, ट्राफिक लाइट जडान, शिक्षा सुधार, धरोहर संरक्षण, खानेपानी अभाव समाधानका लागि भेरी लिफ्टिङ आयोजना, स्वास्थ्य सेवा विस्तार लगायतका काम अघि बढाएको बताइन्। उनले कुनै पनि काम नीति र विधिभन्दा बाहिर नगरेको दाबी गर्दै प्रश्न गरिन्,  के मैले नगरको विकासका लागि गरेको कामकै कारण मेरो घर जलाइयो?

२०७४ सालमा उपमेयर बनेकी ढकाल २०७९ सालमा मेयर निर्वाचित भई तीन कार्यकाल पूरा गरिसकेकी छन्। उनले उपमेयर हुँदा कोरोना महामारीको चुनौतीपूर्ण समय जीवनलाई जोखिममा राखेर सेवा दिएको स्मरण गरिन्। तर त्यसपछि आफूलाई भ्रष्टाचारको आधारविहीन आरोप लगाएर बदनाम गर्न खोजिएको गुनासो गरिन्।

वीरेन्द्रनगर राजधानी शहरका रूपमा अघि बढिरहेको छ, तर म र मेरो परिवारमाथि यति ठूलो अन्याय किन भयो? भन्दै उनले सम्पत्ति जलेको घटनाको छानबिन गर्न आग्रह गरिन्। राजनीतिक प्रतिस्पर्धा र प्रतिशोधका कारण लागेको टिप्पणीले आफूलाई कमजोर बनाउन नसक्ने भन्दै उनले भनिन्, नगरवासीको मतको विश्वास जोगाउँदै म सधैं नगरको विकास, राष्ट्र र राष्ट्रियताको पक्षमा उभिइरहनेछु।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com