काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु र मध्यरातमा प्रतिनिधि सभा विघटन सिफारिस स्वीकृत गर्नुको विरोध जनाएको छ। महासंघले यस कदमलाई जनमतको अपमान र लोकतन्त्रका लागि गम्भीर चुनौती ठहर गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ।’

advertisement

महासंघले भनेको छ कि जेनजी युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध उठाएको आवाज संविधानको दायराभित्रै सम्बोधन गर्ने अवसर मुलुकले पाएको थियो। तर राष्ट्रपतिबाट संविधान विपरीत प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटन सिफारिस स्वीकृत गरेपछि यसले जनमतको अवमूल्यन गरेको महासंघको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो कदम सर्वोच्च अदालतको पूर्वनिर्णय र संविधानले स्थापना गरेका नजिरसँग पनि विपरीत छ र लोकतन्त्रका लागि अनिष्टको संकेत हो।’

महासंघले संविधानले सुनिश्चित गरेका गणतन्त्र, संघीयता, समावेशिता र अन्य उपलब्धिमा नोक्सानी पुग्न सक्ने आशंका व्यक्त गर्दै, वर्तमान संविधान र उपलब्धिको रक्षा गर्न सबै पक्षलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com