काठमाडौं । तिब्बती आध्यात्मिक गुरु दलाई लामाले नेपालकी नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।
शनिबार आफ्नो कार्यालयमार्फत् जारी सन्देशमा दलाई लामाले नेपाली र तिब्बती जनताबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै नेपालको सहयोगप्रति आभार प्रकट गरे।
सन्देशमा भनिएको छ, ‘सन् १९५९ पछि जबरजस्ती तिब्बत छोड्नुपरेको कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताले तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि उपलब्ध गराएको सहयोगप्रति म सदा आभारी छु। सानो भए पनि तिब्बती समुदायले नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’
भारतीय समाचार संस्था एएनआईका अनुसार, दलाई लामाले प्रधानमन्त्री कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘यी चुनौतीपूर्ण घडीमा नेपाली जनताको आशा र आकांक्षा पूरा गर्ने तपाईंको प्रयास सफल होस् भन्ने मेरो प्रार्थना र शुभेच्छा सदा साथमा रहनेछ।’
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया