काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा देशभरका बालबालिका, अभिभावक र सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरेका छन्।

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ। यस वर्षको दिवसको नारामा बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने विषयवस्तु समावेश गरिएको छ।

advertisement

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत बाल दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सर्वाङ्गीण विकासमा लगानी सुनिश्चित गर्ने वातावरण तयार होस् भन्ने अपेक्षा व्यक्त गरे।

उनले भने, नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरिसकेको छ। तर ती अधिकारलाई व्यवहारमा उतार्न राज्य, गैरसरकारी क्षेत्र, विद्यालय, अभिभावक र नागरिक समाज सबैले मिलेर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ।

राष्ट्रपतिले अझै पनि कतिपय बालबालिका आधारभूत अधिकारबाट वञ्चित रहेको तथ्यप्रति चिन्ता व्यक्त गर्दै, उनीहरूलाई हिंसा, दुर्व्यवहार र अमानवीय व्यवहारबाट जोगाउन सम्पूर्ण सरोकारवालाको दायित्व रहेको उल्लेख गरे।

उनले बालबालिकाको उज्ज्वल भविष्यका लागि गुणस्तरीय निःशुल्क शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, नियमित खोप र बालमैत्री स्वास्थ्य सेवा उपलब्ध गराउन जोड दिए। साथै घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण निर्माण गरी सबै समूहका बालबालिकालाई समान अवसर दिनुपर्ने बताए।

राष्ट्रपतिले बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि सबै निकायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा बल दिँदै, यस दिवसले बालमैत्री समाज निर्माणतर्फ सबैलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com