काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाभर भएका तोडफोड र आगजनी घटनाबाट प्रभावित संरचनाको विस्तृत विवरण संकलन कार्य सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी निकाय र प्रभावित व्यक्तिहरूको सहभागितामा यो प्रक्रिया अघि बढाइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार सरकारी कार्यालयहरूले आफैं क्षतिको विवरण संकलन गरी प्रशासनमा बुझाउनेछन् भने निजी सम्पत्तिको क्षति स्थानीय प्रहरी र जनप्रतिनिधिको संलग्नतामा अभिलेख गरिनेछ। एक साताभित्र जिल्लाका सबै क्षतिग्रस्त संरचनाको विवरण संकलन पूरा गर्ने लक्ष्य राखिएको उनले बताए।
प्रशासनको प्रारम्भिक विवरणअनुसार हालसम्म कम्तीमा १८ सरकारी र निजी संरचना तोडफोड वा आगजनीबाट ठूलो क्षति पुगेको छ। विशेष गरी नगरपालिका भवन, प्रहरी कार्यालय र जनप्रतिनिधिका निजी घरहरूमा आक्रमण गरिएको छ।
मङ्गलबार बनेपा नगरपालिका कार्यालयमा भएको तोडफोड र आगजनीका कारण महत्त्वपूर्ण कागजात र सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटी प्रहरी बिटमा पनि आगजनी गरिएको प्रशासनले जनाएको छ। बनेपा नगर कार्यालय त पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको छ।
त्यसैगरी, पनौती र पाँचखाल नगर कार्यालय, सुनकोशी–पाँचखाल खानेपानी आयोजना कार्यालयसहित नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ। प्रदर्शनकारीहरूले ती कार्यालयका फर्निचर र कागजात बाहिर ल्याएर आगो लगाएको प्रशासनको भनाइ छ।
व्यक्तिगत स्तरमा समेत ठूलो क्षति पुगेको छ। प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँ, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, पूर्व नगरप्रमुख भीम न्यौपाने, वडाध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको घरमा लुटपाट, तोडफोड र आगजनी गरेका छन्। पनौतीस्थित एक निजी हेलिकप्टरमा समेत आगो लगाइएको बताइएको छ।
धुलिखेलस्थित जिल्ला कारागारभित्र पनि कैदीबन्दीले आगजनी गरेका थिए। अन्य स्थानका कैदीबन्दी रिहा भएपछि आफूहरूलाई पनि मुक्त गर्नुपर्ने माग राख्दै तोडफोड र आगजनी गरिएको हो। तत्कालै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि थप सुरक्षा जोखिमका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको थियो।
आन्दोलनका क्रममा काभ्रेपलाञ्चोक जिल्लाका दुई जनाले काठमाडौँमा ज्यान समेत गुमाएका छन्।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया