काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले होइन, परिस्थितिको बाध्यतामा प्रधानमन्त्री बनेको स्पष्ट पारिदिएकी छन्। आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी र सुरक्षाकर्मीलाई सम्बोधन गर्दै उनले जिम्मेवारी ग्रहण गर्नु विवशता भएको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘रहरले म आएको होइन, सडकदेखि विभिन्न क्षेत्रबाट जिम्मा लिनुपर्छ भन्ने आवाज आयो। सत्ताको रसास्वादन गर्न आएको होइन, बाध्य भएर यो जिम्मा लिएको हुँ।’
उनले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज बनाउन र नयाँ पुस्ताको आकांक्षा अनुसार सरकार अघि बढ्ने प्रतिबद्धता जनाइन्।
जेन–जी आन्दोलनका २७ घण्टामा व्यापक जनधनको क्षति भएको स्मरण गर्दै उनले सुरक्षा निकाय, प्रहरी चौकी, अदालतदेखि सिंहदरबारसम्म आगजनी र तोडफोडले क्षति पु¥याएको बताइन्। ‘भौतिक संरचना पुनः बनाउन सकिन्छ, तर रेकर्ड नष्ट हुँदा हामी शून्य अवस्थामा छौं,’ उनले चिन्ता व्यक्त गरिन्।
कार्कीले हिंसा नियोजित रूपमा संवेदनशील संस्थामाथि केन्द्रित भएको जिकिर गर्दै सुरक्षा सवारीसाधनसम्म खरिद गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन्। ‘यस्तो दृश्य देख्दा नेपाली भएर पनि लाज लाग्छ। यो काम नेपालीले नै गरेको हो भने, त्यस्ता कार्यलाई नेपाली कसरी भन्न सकिन्छ?’ उनले प्रश्न गरिन्।
उनले घटनामा षड्यन्त्रको आभास भएको भन्दै छानबिन हुने र दोषीलाई कुनै हालतमा नछोडिने चेतावनी दिइन्। ‘सबै प्रहार र नोक्सानीबारे अनुसन्धान हुन्छ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले ६ महिनापछि निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी सुम्पने प्रतिबद्धता पनि व्यक्त गरिन्। ‘नयाँ सांसद र मन्त्रीलाई सुम्पिन्छ, तर सबैको सहयोगबिना सम्भव छैन। सबैले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्छ,’ उनले भनिन्।
उनले बाँसका भाटादेखि कामचलाउ संरचना बनाएर भए पनि पुनर्निर्माणमा जुट्न सक्ने उदाहरण दिँदै नेपालीहरूको सामूहिक क्षमतामा विश्वास व्यक्त गरिन्। अपराधीहरूले मुलुकलाई दिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्नुपर्नेमा उनले जोड दिइन्।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया