काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी आन्दोलनका क्रममा धाकधम्की, लुटपाट वा तोडफोडमा पार्टी सदस्य संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन आग्रह गरेको छ। पार्टीले यस्ता घटनामा संलग्नलाई तत्काल कारबाही गर्न सहयोग गर्ने र आवश्यक परे पार्टीबाटै निष्कासन गर्ने चेतावनी पनि दिएको छ।
मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै, सहिद परिवारलाई गाँस, बास, कपास र रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका छन्।
रास्वपाले आन्दोलनका माग र मुद्दामा पूर्ण समर्थन रहने स्पष्ट पार्दै सार्वजनिक सम्पत्तिमा भएको क्षति मर्मत, सरसफाइ र पुनःस्थापनामा पार्टी सदस्यलाई सक्रिय हुन आह्वान गरेको छ।
विज्ञप्तिमा निम्न बुँदाहरू समावेश छन् :
- सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सञ्चारगृहमा भएको आक्रमणले मनोबल घटाएको भन्दै उनीहरूको सामाजिक संरक्षणका लागि विशेष अभियान चलाइनेछ।
- निजी सम्पत्तिको अधिकार र कानुनी शासनको संरक्षण गरिनेछ। धाकधम्की वा लुटपाटमा संलग्न प्रमाणित सदस्यलाई प्रशासनलाई जिम्मा दिइनेछ र पार्टीबाट निष्कासन गरिनेछ।
- सरकारी कार्यालय, प्रहरी चौकी, विद्यालय, निजी सम्पत्ति तथा अन्य दलका कार्यालयमा भएको तोडफोड र आगजनीको भर्त्सना गर्दै दोषीको पहिचान गरी कारबाहीका लागि सहयोग गरिनेछ।
रास्वपाले आन्दोलनका क्रममा पीडित भएकाहरूलाई सहयोग पुर्याउन सदस्य र समर्थक सबैलाई आफ्नो क्षमता र स्रोतअनुसार सक्रिय हुन आग्रह गरेको छ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया